चिसो बढेपछि धनुषासहित मधेसका जनजीवनमा असर

जनकपुरधाम । धनुषासहित मधेस प्रदेशमा सोमबारदेखि चिसो बढेको छ । शीतलहर र बाक्लो हुस्सुका कारण चिसो बढेको हो । बिहानैदेखि शीतलहरसँगै पश्चिमबाट चिसो बतास चलिरहेको छ । हुस्सुका कारण मधेस प्रदेशको राजधानी जनकपुरधामलगायत क्षेत्रमा घाम नलाग्दा तापक्रम अझै घट्दै गएको छ ।
चिसोबाट जोगिन आगो बालेको ठाउँमा मानिसको भिड लाग्ने गरेको छ । चिसो बढेपछि बालबच्चालाई विद्यालय जान समस्या भएको जनकपुरधाम उपमहानगरपालिका–१४ की रञ्जना झाले बताए ।
‘चिसोले साना बालबच्चासहित विद्यार्थीलाई समस्या छ’, उनले भने,’न्यानो कपडा नहुने बच्चालाई धेरै समस्या हुने भो ।’ चिसोले बालबच्चा मात्रै होइन ज्येष्ठ नागरिक पनि समस्यामा छन् ।
जाडोले मानिसको दिनचर्यामा पनि असर पारेको छ । एक्कासि जाडो बढेपछि मुक्त विपन्न दलित, सीमान्तकृत समुदायका मानिस समस्यामा परेका छन् । काम गरेर दुई छाक टार्ने मजदूर र किसानलाई काम गर्न समस्या भइरहेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरमा नाली बनाउने काम गरिरहनुभएका मजदूर राम सनेही सदाले बताए । ‘जाडोमा सिमेन्ट, गिट्टी, बालुवाको काम गर्न समस्या हुने गर्दछ’, उनले भने ।
यसैगरी, गहुँबालीमा सिँचाइ गरिरहेका किसान पनि जाडोका कारण सकिनसकी काम गर्न बाध्य छन् । क्षीरेश्वरनाथ नगरपालिका– ४ हरैयाका दिपो यादवले भने, ‘सिँचाइ नगरिए उत्पादन राम्रो हुँदैन, त्यसैले यस्तो चिसोमा पनि सिँचाईका लागि दमकल चलाउन खेत आएको छु।’
चिसोले गर्दा काममा जान नसकेको मिथिला नगरपालिका वडा नम्वर ८ का पशुपति लामाको गुनासो थियोे। उनले भने, ‘दाउरा नबेचे साँझ बिहानको चुलो बल्दैन। जाँडोले धेरै समस्या पारेको छ। घरमा ओड्ने कम्बल पनि छैनन्। आगो बालेर दिनरात बिताउनु पर्ने अवस्था छ।’ चिसोले गर्दा विभिन्न स्वास्थ्य समस्या बल्झने भएकाले चिसोबाट जोगिन स्वास्थ्यकर्मीले सुझाए ।
चिसोका कारण खास गरेर निमोनिया, विभिन्न भाइरल रोग लाग्न सक्ने प्रादेशिक अस्पतालका प्रशासन प्रमुख डा. केडी दासले बताए । उनले चिसोमा भाइरसका कारण बच्चालाई भाइरल डायरिया हुन सक्ने उल्लेख गरे ।
चिसोबाट जोगिन न्यानो कपडा लगाउन, बाहिर ननिस्कन, तातो पानी तथा तातो झोलिलो पदार्थ प्रयोग गर्न उनकाे सुझाब थियो ।
अत्यधिक जाडोका कारण बाक्लो कपडाको ब्यापार बढेको छ। जाडोले गर्दा बाक्लो कपडा किन्ने मानिसहरु दिनहुँ बढेको जनकपुरधाम शिव चोक स्थित गुप्ता जनरल स्टोरका प्रोपराइटर रमेशप्रसाद गुप्ताले बताए। जाडोमा हाइनेक, स्विटर, ज्याकेट, टाउजर, सल, टोपीलगायत कपडाहरु बढी खपत हुने गरेको छ।

प्रतिक्रिया