म मरेको रात
तिर्थ श्रेष्ठ
२०७९ पुष १६ गते ८:५७

तिम्रो सपनाको नदि हुनहुनाउँदै
प्रलयको गीत गाउनेछ
रुखका हांगाहरु भाँच्चिनेछन
र छिरल्लिनेछन सपनाका गुँडहरु
आकाशमा प्वाल पर्नेछ
र त्यही प्वालबाट अदृश्य हुनेछ मेरो देह
साँझ पर्दा नपर्दै चुक घोप्टिनेछ आकाशमा
संभावनाका सबै जून ताराहरु
त्यही चुक घोप्टिएको आकाशको दहमा डुब्नेछन
तिमी देख्नेछौ मलाई आँसुमा
र खोज्नेछौ सुस्केरामा
मलाई तिमी मेरो अनुपस्थितिमा पनि
माया गर्छौ भने
कृपा गर
तिमीसंग बचेको मेरो माया जो छ
सबैमा बाँडिदिनु
र म सबैमा फैलिएको अनुभूति गर्नू
यो भन्दा अजम्बरी माया
मेरो लागि कुनै हुने छैन
फेरि तिम्रो मनको रुखका हांगाहरुमा
नयाँ पालुवा पल्हाउनेछ्न
नयाँ फूलहरु फूल्नेछन
सुदूर कतैबाट आउने छन
सपनाका चराहरु
र गुँड लाउने छन
मलाई त्यतै खोज्नु
म हुनेछु त्यतै कतै ।

तीर्थ श्रेष्ठ
तिर्थ श्रेष्ठ नेपालखाेजका स्तम्भकार हुन् ।
सम्बन्धित
प्रतिक्रिया