बिहीबार, जेठ ३, २०८१

फ्लासब्याक– २०२२: शीर्ष १० ओटीटी चलचित्र तथा वेबसिरिज

नेपालखोज २०७९ पुष १६ गते १३:१०

काठमाडाैं । यो जाडोको सिजन भनेको सिरक भित्र घुस्रिएर स्न्याक्स र चियाको चुस्की लिदैं चलचित्र तथा शृङ्खलाहरू हेरि रमाइलो गर्ने समय हो । यो वर्षको अन्तिम र नयाँ वर्षको प्रारम्भ पनि हो । त्यसैले हामि सन् २०२२ मा ओटीटी प्लेटफर्ममा हिट भएका चलचित्र र वेब शृङ्खलाहरूको कुरा गर्दैछौँ।


पूरै वर्षलाई फर्केर हेर्दा नेटफ्लिक्स, अमेजन प्राइम, जि फाईभ , डिज्नी प्लस हटस्टार जस्ता ओटिटि प्लेटफर्महरूमा हिन्दी चलचित्र तथा वेब शृङ्खलाहरू हाबि भएको पाइयो ।

अ–थर्सडे : यामी गौतम स्टारर यो फिल्मले प्रसस्त प्रशंसा पायो । यो चलचित्र हटस्टारमा उपलब्ध छ। यो थ्रिलर फिल्म हो जसमा अतुल कुलकर्णी, डिम्पल कपाडिया, नेहा धुपिया तथा करणवीर शर्माको पनि अभिनय हेर्न पाइन्छ ।

फेम गेम : माधुरी दीक्षितले ‘फेम गेम’ बाट ओटीटी डेब्यू गरेकी छिन्। यो असल आमा बन्न र आफ्नो लोभी पतिबाट आफ्नो सम्पत्ति जोगाउन संघर्ष गरिरहेकी एक महिलाको कथा हो । यो शृंखलालाई निकै मन पराइएको थियो । यो नेटफ्लिक्सको राम्रो रिलीज मध्ये एक थियो।

मोनिका, ओ माई डार्लिंग : ‘मोनिका, ओ माई डार्लिंग’ हालै रिलिज भएको क्राइम थ्रिलर हो जसको भारतीय दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए । यो नेटफ्लिक्स फिल्ममा हुमा कुरैशी, राजकुमार राव, आकांक्षा रञ्जन कपूर तथा राधिका आप्टेले आफ्नो भूमिका राम्रो सँग निर्वाह गरेका छन् ।

जामतारा सिजन-२ : जामतारा सिजन-२ निकै हिट भयो । यो आफ्ना ड्रपआउट साथीहरूसँग फिसिङ स्क्याम चलाउने दुई काका – भाईहरूको कथा हो। यो अपराध श्रृंखला नेटफ्लिक्समा उपलब्ध छ।

डार्लिङ्स : आलिया भट्ट तथा शेफाली शाह स्टारर फिल्म डार्लिङ्स पनि निकै हिट भएको थियो । नेटफ्लिक्समा रहेको यो डार्क कमेडी घरेलु हिंसाको विषय वरपर घुम्छ । यो आलिया भट्ट निर्माता भएको पहिलो फिल्म पनि हो ।

अरण्यक : अरण्यक एउटा राजनीतिक षड्यन्त्रको कथा हो जसमा रविना टण्डनले प्रहरीको भूमिका निर्वाह गरेकी छिन् । यो नेटफ्लिक्स सिरिजमा मेघना मलिक, आशुतोष राणा, जाकिर हुसेन तथा परमब्रत चटर्जी जस्ता कलाकारहरू छन् ।

कला : कला इरफान खानका छोरा बाबिल खानको डेब्यु फिल्म हो। यो नेटफ्लिक्स फिल्ममा तृप्ति डिमरी, समीर कोचर तथा स्वस्तिका मुखर्जीको अभिनय छ ।

सास बहू और अचार प्रा. लिमिटेड : ‘सास बहू और अचार प्रा. लिमिटेड’ जी फाईभको वेबसिरिज हो । यो एक सम्बन्धविच्छेदित महिलाको कथा हो जसले आफ्नै अचार व्यवसाय स्थापना गर्न खोज्छिन । उनी पैसा कमाउने तथा आफ्ना छोराछोरीलाई आफ्नो पूर्व पतिबाट फिर्ता लिने प्रयासमा हुन्छिन् ।

फ्रेडी : अलाया एफ तथा कार्तिक आर्यन स्टारर फ्रेडी हालै डिज्नी प्लस हटस्टारमा रिलिज भएको छ। यो एक अप्ठ्यारो र अन्तर्मुखी मानिस डा. फ्रेडीको वरिपरि घुम्ने फिल्म हो जो साथी खोज्न आतुर छ । उ अन्ततः केटीसँगको प्रेममा पर्छ तर कथाले भने खतरनाक मोड लिन्छ ।

दिल्ली क्राइम सीजन-२ : दिल्ली क्राइम सिजन-२ आफ्नो पहिलो सिजन भन्दा पनि हिट साबित भयो। यो सिरिज पैसाका लागि वृद्धहरूलाई मार्ने गिरोहका बारेमा केन्द्रीत छ । यो श्रृङ्खला नेटफ्लिक्समा उपलब्ध छ ।

प्रतिक्रिया