खुल्यो हुम्लाको उत्तरी हिल्सा नाका

काठमाण्डौं । नेपाल–चीनको उत्तरी व्यापारिक सीमा क्षेत्र हुम्लाको ‘हिल्सा नाका’ खुलेको छ । कोरोना महामारीका कारण बन्द रहेको हुम्लाको ‘हिल्सा नाका’ तीन वर्षपछि गत सोमबारबाट एकतर्फी खुलेको छ । छिमेकी राष्ट्र चीनले सोमबारदेखि एकतर्फी नाका खोलेपछि आठवटा ट्रकमा सामान आयात गरिएको यारी भन्सारले जनाएको छ ।
यारी भन्सार कार्यालयका प्रमुख रामराज जैशीका अनुसार चीनबाट दैनिक उपभोग्य सामग्री, पेट्रोलियम पदार्थसँगै विकास निर्माणका सामग्री आयात हुनेछ । सुर्खेत–नेपालगन्ज–सुर्खेत हवाईमार्गबाट दैनिक उपभोग्य सामान ढुवानी गर्नुभन्दा हुम्ली नागरिकलाई चीनबाट सामान ल्याउन सस्तो पर्दछ । हिल्सा नाका खुलेसँगै हुम्ली नागरिक उत्साहित छन् । यद्यपि वर्षातका कारण भत्किएका सडक मर्मत नहुँदा नाकामा आएका सामग्री हुम्ला सदरमुकाम सिमकोट पुग्न अझै केही समय लाग्ने प्रमुख जैशीले बताए ।
नेपाल–चीन उत्तरी नाका हिल्साबाट चीनले सामान निर्यात गर्न थालेको करिब पाँच वर्ष पुग्न थालेको छ । विगत तीन वर्षदेखि हिल्सा नाका ठप्प हुँदा यारी भन्सार कार्यालय हुम्लाको राजस्व शून्य छ । कोरोना महामारीदेखि नै चीन–नेपाल दुवैतर्फबाट सामान आयात–निर्यात ठप्प भएपछि राजस्व शून्य भएको हो । सोमबार चीनले एकतर्फी हिल्सा नाका खोलेसँगै भन्सारका कर्मचारी चीन–नेपाल सिमाना हिल्ला नाकातर्फ राजस्व संकलनका लागि जुटेका छन् ।
हिल्सा नाकाबाट एकतर्फी आयात सुरु भएपछि जीर्ण ग्रामीण सडकको स्तरवृद्धिलाई जोड दिइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् । नाका बन्द हुँदा हिल्सा नाका क्षेत्रका बजार सुनसान थिए । उनले भने, “नाका खोलेसँगै फेरि चहलपहल बढेको छ । हुम्ला र चीनको व्यापारिक सम्बन्धलाई थप सुमधुर बनाउन आवश्यक छ ।”
विगत तीन वर्षदेखि नाका बन्द हुँदा सयौं विपन्न नागरिकको रोजीरोटीसमेत गुमेको थियो । हुम्लाको नाम्खा गाउँपालिकाका प्रायः युवा वर्षेनी मजदुरीका लागि ताक्लाकोट हिल्सा नाका क्षेत्रमा जाने गर्छन् । नाका बन्द भएसँगै अधिकांश युवा बेरोजगार भएर बस्न बाध्य भए पनि अब भने पुनः काम पाउने र दैनिकी गुजार्न सहज हुने अपेक्षा गरिएको छ ।
सरकारले केही महिनाअघि चीन र भारततर्फका ३० वटा नाका सञ्चालन गर्ने निर्णय गर्दा हुम्लाको हिल्सा नाका प्राथमिकतामा परेको थिएन । उक्त नाका खोल्न विभिन्न निकायमा आग्रह गर्दासमेत सुनुवाइ नभएको तर सोमबारदेखि नाका खुल्दा खुसी लागेको हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले बताए ।

प्रतिक्रिया