शुक्रबार, जेठ ४, २०८१

नाम्चेमा हिमपात, मौसम प्रतिकुल बनेपछि उडान ठप्प

नेपालखोज २०७९ पुष १६ गते १७:४३

काठमाण्डौं । सोलुखुम्बुको नाम्चेसहितका क्षेत्रमा हिमपात भएको छ ।

जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेसहित खुम्जुङ, त्याङबोचे, फेरुचे लगायतको क्षेत्रमा शुक्रबारबाटै यस वर्षकै पहिलो हिमपात सुरु भएको हो । इलाका प्रहरी कार्यालय नाम्चेले दिएको सूचना अनुसार शुक्रबार बिहानबाट सुरु भएको हिमपात अहिले पनि सामान्य रुपमा जारी रहेको छ ।

हिमपातसँगै खुम्बुमा अत्याधिक चिसोको महसुस गरिएको स्थानीयले बताएका छन् । खुम्बुको चारैतिर कुहिरोले घेरिएको छ भने मौसम प्रतिकूलताका कारण दुई दिन यता लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा कुनै पनि विमानले उडान भर्न सकेको छैन् ।

त्यसबाट चिसो छल्न काठमाण्डौं आउने यात्रुहरु समस्यामा परेका छन् । उनीहरु अनकुल मौसमको पर्खाइमा छन् । फोटो – फायल

प्रतिक्रिया