शुक्रबार, जेठ ४, २०८१

बिर्सने रोग अर्थात् जो मस्तिष्कसँग जोडिएको छ !

नेपालखोज २०७८ असोज २४ गते १४:३०

काठमाडौं । विस्मृति अथवा डिमेन्सिया एक प्रकारको रोग हो । जसमा मानिसको स्मरण क्षमतामा ह्रास आउँछ । हाम्रो दिमागमा जुन नसाहरूले आपसमा जानकारी दिने काम गर्छन् त्यो जानकारी दिने प्रणालीमा आएको समस्याले कोषिकाहरूहरूको बीचमा समन्वय हुन सक्दैन् । अथवा यो जानकारी गराउने नशाहरूमा खराबी आउन थाल्छ । क्रमशः उमेर बढ्दै गएपछि मानिसको स्मरण शक्तिदेखि लिएर विभिन्न कामकाज रोकिन थाल्छ । दिमागले नियन्त्रण गर्ने स्मरण शक्तिदेखि लिएर देख्ने, सुन्ने सबै शक्ति कमजोर हुँदै जान्छ र त्यसैले कहिलेकाहीँ अन्य समस्या ल्याएर मृत्युसम्म गराउन सक्छ ।

जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितका अनुसार यसले विशेषगरी स्मरण शक्ति, सोच, बोध, गणना, सिक्ने क्षमता, सिकाउने क्षमता, भाषा र निर्णय गर्ने क्षमतामा गम्भीर असर पर्दछ । हाल विश्वभर करिब ५ करोड ५० लाख मानिस डिमेन्सिया रोगबाट प्रभावित छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यो अनुपात २०३० सम्म ७ करोड नाघ्ने प्रक्षेपण गरेको छ । विभिन्न कारणले हुन सक्ने विस्मृति अथवा डिमेन्सियाका कारणमध्ये अल्जाइमर रोग सबैभन्दा बढी मात्रामा पाइएको बुझिन्छ । अल्जाइमर रोग मस्तिष्कको रोग हो ।

जसका कारण मानिसहरूले बिस्तारै आफ्नो स्मरण क्षमता, मानसिक क्षमता गुमाउँदै जान्छन् । बढी यो वृद्धावस्थामा गएर देखिन्छ । पश्चिमी मुलुकहरूमा डिमेन्सियाको मुख्य कारणका रूपमा अल्जाइमर रोगलाई लिने गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार नेपालमा पनि अल्जाइमर रोगका बिरामीको संख्या सन् २०१५ मा ७८ हजार अनुमान गरिएको थियो । र, प्रत्येक २० वर्षमा यो संख्या दोब्बर हुने अनुमान गरिएको छ । नेपाल सरकारले अल्जाइमर रोगलाई दीर्घ रोगको सूचीमा राखेको छ ।

रोग लाग्ने करण ?
डा. दीक्षितका अनुसार मुख्यगरी अल्जाइमर अनुवांशिक (जिनेटिक) नै हो । परिवारका कुनै सदस्यमा यो रोग छ भने अन्य सदस्यहरूमा पनि हुने सम्भावना प्रवल हुन्छ । अर्को कुरा मानव शरीरमा एक्स र वाइ क्रोमोजोम हुन्छ । त्यसमा एक्स आमाबाट आउँछ भने वाइ बुबाबाट आउँछ । आमामा हुने एक्स क्रोमोजोमको खराबीले आमाबाट छोराछोरी, छोराछोरीबाट तिनका पनि सन्तानमा गरेर हरेक पुस्तामा जान्छ । त्यसैले यसलाई जिनेटिक भनिन्छ ।

यो रोग अधिकांश अनुवांशिक नै हुन्छ । त्यसबाहेक अन्य केसमा पनि हुन सक्ने विभिन्न अनुसन्धानहरूले देखाएका छन् । त्यस्तै अन्य कारणहरूमा टाउकोमा गहिरो चोटपटक लागेको व्यक्तिमा, उच्च रक्तचाप तथा उच्च कोलेस्टेरोलका कारण मस्तिष्कमा रक्त सञ्चार प्रभावित तथा अवरुद्ध भएमा, डिप्रेसन तथा चिन्तालगायत मानसिक समस्या भएका बिरामी र अधिक मोटोपना भएकाहरूमा, डिमेन्सिया, डाउन सिन्ड्रोम, सुस्त मनस्थिति भएका बिरामीहरूमा, मानसिक निष्क्रियता भएका व्यक्तिहरूमा पनि हुन सक्छ ।

यसका लक्षण
यसको सबैभन्दा पहिलो लक्षण भनेकै स्मरण शक्तिमा ह्रास आउँदै जानु हो । कम उमेरमै व्यापक रूपमा छिटोभन्दा छिटो स्मरण शक्ति घट्न थाल्यो भने मानिसमा अल्जाइमर भएको हुन सक्छ । त्यस्तै मसल प्रणालीहरूमा पनि कमजोरी आउन थाल्यो भने पनि अल्जाइमर भएको हुन सक्छ । त्यस्तै निन्द्रामा समस्या हुनु, निन्द्रामा हिँड्नु, पढ्न र लेख्न असजिलो हुनु, राम्रो, नराम्रो वा खतरापूर्ण वस्तु पहिचान गर्न नसक्नु, निर्णय क्षमतामा ह्रास आउनु, उच्चारण गलत गर्नु, अस्पष्ट वाक्य बोल्नु, बेसुराका कुरा गर्नुलगायत लक्षणहरू देखा पर्न थाल्छन् ।

यसको रोकथाम सम्भव छ ?
अल्जाइमर अनुवांशिक रोग हो । त्यस कारण कुनै पनि महिला गर्भवती भइन र गर्भावस्थामै यो रोग छ वा छैन भन्नेबारे परीक्षण गरेर मात्रै पत्ता लगाउन सकिन्छ । यसबाहेक हालसम्म यो रोगको कुनै औषधि उपचार पत्ता लगाउन सकिएको छैन भने यसलाई नै रोक्ने भनेर खासै तयारी गरेको पनि देखिँदैन । यो रोग पूर्वी देशहरूभन्दा पश्चिमा देशहरूमा बढी भएको पाइन्छ ।

प्रतिक्रिया