आइतबार, असार १५, २०८२

यसपालिको भूकम्प सुरक्षा दिवस काठमाडौं महानगरमा मनाइने

नेपालखोज २०७९ पुष १९ गते ६:४१

काठमाडाैं । यसपालिको २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह काठमाडौं महानगरपालिकामा गर्ने निर्णय भएको छ । हिजाे गृहमन्त्रालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको २५औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि ललितपुर महानगरपालिकामा दिवस मनाइएको थियो भने त्यसको अघिल्लो वर्ष भक्तपुरमा गरिएको थियो । यसपटक दिवस मूल समारोह समितिको सभापति काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह रहने र प्रमुख अतिथिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गर्ने निर्णय पनि भएको छ । प्रधानमन्त्रीको समय लिनका लागि बैठकले गृहमन्त्री लामिछानेलाई जिम्मेवारी दिएको छ ।

बैठकमा प्रस्तावित यसपालिको नारामाथि आएका सुझावहरूको आधारमा गृहमन्त्रालयले अन्तिम नारा तय गर्ने भएको छ । बैठकमा तीनवटा नारा प्रस्तावित गरिएको थियो । यसैगरी सङ्घ, प्रदेश, जिल्ला प्रशासन कार्यालयहरू, स्थानीय तहहरूलाई समेत दिवस मनाउन पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा आफ्ना धारणा राख्ने क्रममा अधिकांशले भूकम्पबारे आम सर्वसाधारणलाई सचेत गराउन र यसको जोखिमबारे गम्भीर बन्न वर्षैपिच्छे कुनै एक दिन सन्दर्भ पारेर सिमुलेसन अभ्यास (ड्रिल) को कार्यक्रम राख्नुपर्ने सुझाव दिएका थिए ।

बैठकमा गृहमन्त्री लामिछानेले ‘नेपालमा भूकम्प सुरक्षा दिवस विसं २०५५ देखि २०७८ सालसम्मका विषयगत प्राथमिकताहरू’ नामक पुस्तकसमेत सार्वजनिक गरेका थिए । विसं १९९० माघ २ गते नेपालमा आएको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि प्रत्येक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । रासस

प्रतिक्रिया