प्रधानमन्त्री दाहालले आज सबै मन्त्रालयका सचिवहरूलाई कामबारे निर्देशन दिने

नेपालखोज २०७९ पुष १९ गते १०:२८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार मन्त्रालयगत भइरहेका काम र बनाउनुपर्ने नीतिबारे सबै मन्त्रालयका सचिवहरूलाई निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् । सोमबार सिंहदरबारमा सचिवहरूसँग छलफल गरेका प्रधानमन्त्री प्रचण्डले मंगलबार उनीहरुलाई निर्देशन दिँदै सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सचिवहरूको रिपोर्ट सुनेपछि आज निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची छ । प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरुसँग सोमबार कामको विवरण मागेका थिए । उनले मन्त्रालयगत कामको विवरणबारे जानकारी लिन सरकारका सचिवहरूलाई आज पनि छलफलमा बोलाएका छन् ।

सोमबारको विवरण अध्यायन गरेर मंगलबार सबै सचिवलाई राखेर एकमुष्ठ निर्देशन दिने बताइएको छ । तेस्रोपटक प्रधानमन्त्रीमा चयन भएपछि प्रचण्डले पहिलो पटक प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई बोलाई त्यसका कामकारबाहीको विवरण लिएका थिए ।

सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री प्रचण्डले विभिन्न मन्त्रालय र निकायको कामकारबाही जानकारी लिने काम सुरु गरेको नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले नेपालबहसलाई जानकारी दिए । छलफलको क्रममा सचिवहरुले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण र आफूहरुले भोग्नु परेका समस्याबारे प्रधानमन्त्री दाहाल समक्ष ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया