सोह्रौं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी

नेपालखोज २०७९ पुष २१ गते ८:५५

काठमाडाैं । जुत्ता तथा चप्पलसम्बन्धी स्वदेशी उत्पादनबारे नेपाली बिक्रेता र उपभोक्तालाई जानकारीदिने उदेश्यले आयोजना गर्न लागिएको ‘१६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी’ आज सुरु हुँदैछ । नेपालमा पहिलो पटक हुन लागेको प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा आज पुस २१ गतेदेखि २३ गते शनिबारसम्म सञ्चालन हुनेछ । देशभरबाट १२ उद्योगसहित पाँच हजार उद्योगी, बिक्रेताले सहभागिता जनाउने यो प्रदर्शनीले स्वदेशी उत्पादनलाई बाह्य बजारमा समेत बिस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रदर्शनीमा विदेशी कच्चपदार्थ, मेशिनरी र प्रविधिसहितको ४० भन्दाबढी कम्पनीका प्रदर्शनी कक्ष र नेपाली फुटवेयरका ९० कम्पनी सहभागी हुनेछन् । नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगको सङ्ख्या १ हजार ५ सय छ । नेपाली उद्योगले हाल वार्षिक पाँच करोड जोर जुत्ता – चप्पल उत्पादन गदै आएका छन । यो क्षेत्रमा ३० अर्बभन्दा बढीको लगानी र ४ अर्बभन्दा बढी बैंक कर्जा छ ।

नेपालमा आर्थिक वर्ष २०७७ – ७८ मा ४ करोड ११ लाख ४६ हजार १ सय ११ जोर जुत्ता – चप्पल आयात भएको छ भने २७ लाख ६४ हजार ६ सय ४३ जोर जुत्ता – चप्पल निर्यात भएको छ । उद्योगीहरुका अनुसार नेपालका जुत्ता – चप्पल उद्योग ३५ प्रतिशत क्षमतामा मात्र सञ्चालन भएका छन् । नेपाली चुत्ता – चप्पल विश्वका १८ देशमा निर्यात हुने गरेका छन् । नेपाल जुत्ता उत्पादक सङ्घले आयोजना गर्ने यो प्रदर्शनीका सम्बन्धमा प्रदर्शनी संयोजक सुरज बञ्जाडेले भनेका छन – ग्राहक संगै बिक्रेतालाई समेत नेपाली उत्पादनको गुणस्तरका विषयमा कम ज्ञान भएको देखियो ।

प्रदर्शनीबाट सबैले जानकारी पाउन सक्नेछन् । स्वदेशी जुत्ता, चप्पल बढी खपत हुन नसक्नु मुख्य कारण कम प्रतिस्पर्धी भएका उनको तर्क छ । सङ्घका अध्यक्ष नानीराज घिमिरेले स्वदेशी माग पूरा गर्न आत्मनिर्भर भए पनि चोरी पैठारीका कारण समस्या भएको बताउँदै भनेका छन – चोरी पैठारी, न्यून विजकीकरण, दक्ष जनशक्तिको अभाव तथा अनियन्त्रित सस्तो जुत्ताको आयातले स्वदेशी उद्योगलाई प्रभाव पारेको छ ।

प्रतिक्रिया