कृषियोग्य जमिनको संरक्षण आवश्यक : अध्यक्ष तिमिल्सिना

काठमाण्डौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तहले कृषि उत्पादनयोग्य जमिनको संरक्षण गर्न नसकेको बताए । आज आयोजित नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको १५औँ वार्षिक साधारणसभामा उहाँले जग्गाको खण्डीकरण र बस्ती विस्तार रोकिनुपर्ने बताए ।
उनले भने, “कृषियोग्य जमिन खुम्चिदैछ, जग्गा खण्डीकरण गरी प्लटिङ बढ्दो छ ।” उनले कृषियोग्य जमिन अभाव भइरहेको भन्दै सहकारी संस्थाले सामूहिक कृषिखेतीमा जोड दिनुपर्ने बताए । सहकारीमार्फत् प्रत्येक जिल्लामा एउटा सामूहिक कृषिजन्य सामग्री उत्पादन कार्यक्रम सुरु गर्न उनले आग्रह गरे । सामूहिक खेतीमार्फत् कृषि उद्यमशिलता बढाउन सके व्यापार घाटा कम गराउन सकिने उनको भनाइ छ ।
नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले किसानले मल र बिउ समयमा नपाउने, सिँचाइको अभाव र कृषि प्राविधिक जस्ता समस्या किसानले भोगिरहेको गुनासो गरे ।

प्रतिक्रिया