सोमबार, माघ २८, २०८१

अन्तरिक्ष यात्रीहरूकाे तलब कति हुन्छ ?

नेपालखोज २०७९ पुष २१ गते १५:०९

काठमाडाैं । रकेटको सहायताले उड्ने र ब्रह्माण्डको परिक्रमा गर्ने, ग्रह, ताराहरू हेर्ने यो कामका बारेमा कुरा सुन्दैमा रोमाञ्च जागृत हुन्छ तर यसमा जोखिम पनि उत्तिकै छ । अन्तरिक्षमा काम गर्ने सपना देख्नेहरू धेरै छन् । आखिर यी अन्तरिक्ष यात्रीहरूले कति पैसा पाउँछन् त ?

Advertisement

अमेरिकी अन्तरिक्ष एजेन्सी नासा : अमेरिकी अन्तरिक्ष एजेन्सी, नासा, अन्तरिक्षमा अन्तरिक्ष यात्रीहरू पठाउने सबैभन्दा ठूलो एजेन्सी हो । नासामा अन्तरिक्ष यात्रीहरूका लागि दुई ग्रेडको तलब ब्यबस्था छ । पहिलो ग्रेड जिएस १३ हो जसमा वार्षिक तलब ६५ हजार २ सय ४० डलरबाट सुरु हुन्छ। दोस्रो ग्रेड जिएस १४ हो जुन १ लाख भन्दा माथिको आधार तलबबाट सुरु हुन्छ । नासामा सैन्य अन्तरिक्ष यात्रीहरू पनि छन जसले सेनाको नियमअनुसार तलब, भत्ता र बिदा पाउँछन्।

नासामा सुविधा : अन्तरिक्ष यात्रीहरूलाई जीवनभर चिकित्सा सुविधाका साथै पेन्सन र अनेक किसिमका भत्ताहरू दिइन्छ। अमेरिकामा अन्तरिक्ष यात्रीहरूले पनि कर तिर्नु पर्छ । अपुष्ट जानकारी अनुसार उनिहरुलाई हरेक अन्तरिक्ष यात्राका लागि छुट्टै रकम पनि दिइन्छ ।

युरोपेली अन्तरिक्ष एजेन्सी, इएसए : इएसए मा अन्तरिक्ष यात्रीहरूको तलब ग्रेड ए२ तथा ए४ ब्यान्डमा बिभाजित छ । ए२ ग्रेडमा नियुक्ति लगत्तैको तलब दिइन्छ भने तालिम पछि ए३ ग्रेडको तलब प्रदान गरिन्छ । पहिलो अन्तरिक्ष यात्रा पछि उनीहरूले ए४ ग्रेडको पारीश्रमिक पाउँछन् । यस हिसाबमा जर्मनीमा ६६,५८८ , फ्रान्समा ७०,१४३ युरो तथा बेलायतमा ५४,४१६ पाउण्ड बार्शिक पारीश्रमिक प्रदान गरिन्छ । यसबाहेक फ्रान्समा १००५७८ यूरो तथा बेलायतमा ७८०४६ पाउन्डसम्म प्राप्त गर्न सकिन्छ ।

युरोपमा सुविधा : युरोपमा अन्तरिक्ष यात्रीहरूले आजीवन स्वास्थ्य सुविधा , तलबि बिदा , छुट्टीको समयमा घर जान यात्रा खर्च , १० वर्ष सेवा गरेपछि पेन्सन र अन्य धेरै भत्ताहरू पनि पाउँछन्। यसबाहेक, उनीहरूले राष्ट्रिय सरकारलाई आयकर तिर्नुपर्दैन, त्यसैले उनीहरूले अन्य पेशामा काम गर्नेहरूको तुलनामा धेरै पैसा हात पार्छन्।

स्पेसएक्स : एलोन मस्कको कम्पनी स्पेसएक्सले सन् २०२० मा पहिलो पटक आफ्नो मानवयुक्त अन्तरिक्ष यान अन्तरिक्षमा पठाएको थियो । यो एउटा निजी कम्पनीको अन्तरिक्षमा जाने पहिलो यान थियो । एलोन मस्कले आफ्ना अन्तरिक्ष यात्रीहरूलाई नासाभन्दा बढी रकम दिने कुरा गरेका थिए। अपुष्ट स्रोतहरूबाट प्राप्त जानकारी अनुसार, स्पेसएक्सले अन्तरिक्ष यात्रीहरूलाई वार्षिक रूपमा १४१५०० डलर तलब दिन्छ । यसका साथै उनीहरूले धेरै प्रकारका भत्ता तथा सुविधा पनि पाउँछन् ।

नील आर्मस्ट्रङलाई कति तलब ?

सन् १९६९ मा नासाको अपोलो मिसनसँगै अन्तरिक्ष यात्रा गरेका नील आर्मस्ट्रङले त्यसपछि वार्षिक २७ हजार ४ सय १ डलर तलब पाएका थिए। यो त्यतिबेला अन्तरिक्ष यात्रीले पाउने सबैभन्दा बढि तलब थियो। यदि आजको मूल्यमा गणना गर्ने हो भने उक्त रकम लगभग २ लाख डलर बराबर हुन्छ ।

प्रतिक्रिया