बिहीबार, जेठ २, २०८२

पाकिस्तान : बिजुली बचत गर्न मल–बजार चाँडै बन्द हुने

नेपालखोज २०७९ पुष २१ गते १६:०३

काठमाडौं । पाकिस्तान सरकारको नयाँ योजना अनुसार देशभरका बजार र मलहरू बेलुका ८ः३० बजे नै बन्द हुनेछन् । मुलुकको ऊर्जा संकटलाई मध्यनजर गर्दै यो कदम चालिएको हो । यो योजनाको उद्देश्य पाकिस्तानको बिग्रँदै गएको आर्थिक अवस्थामा सुधार ल्याउनु हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको वार्ता पछि यो कार्ययोजना तयार गरिएको पाकिस्तानी अधिकारीहरुले बताएका छन् । पाकिस्तानले ६ अर्ब डलरको बेलआउट प्याकेजका लागि आईएमएफले केही सर्त नरम बनाओस् भन्ने चाहना राखेको छ किनभने त्यहाँको अवस्थाले देशमा मुद्रास्फीति थप बढ्ने आशंका पाकिस्तानलाई छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफ तथा ऊर्जा मन्त्री गुलाम दस्तगीरले केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूलाई बताए अनुसार ऊर्जा संकटसँग जुध्न मल र बजार चाँडै बन्द गर्ने निर्णय गरिएको हो। यससँगै विवाह हल तथा रेष्टुरेन्ट पनि राति १० बजेसम्म बन्द गर्न भनिएको छ ।

यो उपायबाट सरकारले ऊर्जा बचत गर्ने र तेलको आयात घटने आशा गरेको छ, जसका लागि पाकिस्तानले वार्षिक ३ अर्ब डलर खर्च गर्छ । देशका अधिकांश पावर प्लान्टहरूमा तेलबाटै बिजुली उत्पादन गरिन्छ । ती प्लान्टमा प्रयोग हुने तेल विदेशबाट ल्याइन्छ । सरकारको यो घोषणाले व्यापार जगत भने चिन्तित भएको छ । यो निर्णयले पाकिस्तानको व्यापारमा नकारात्मक असर पर्ने व्यापारीहरुको भनाइ छ । उनिहरुका अनुसार कोरोनाको विश्वव्यापी महामारीका कारण यसअघि नै पाकिस्तानको व्यापार नराम्रोसँग प्रभावित भएको छ ।

गत वर्षको विनाशकारी बाढीका कारण देशलाई ४० अर्ब डलरको नोक्सानी भएको पाकिस्तानी अधिकारीहरूले बताएका छन् । त्यसैले पाकिस्तानले आईएमएफका सर्तहरू खुकुलो बनाउन माग गरिरहेको छ । यसका बाबजुद पनि पाकिस्तानले आईएमएफका केही सर्तहरू पूरा गर्न ऊर्जा बचत र नयाँ कर लगाउने जस्ता उपायहरू अवलम्बन गर्नुपर्छ । एपी/एएफपी

प्रतिक्रिया