आइतबार, असोज २०, २०८१

नेपाल टी–२० क्रिकेट लिग : ८३ रनले काठमाण्डौं पराजित

नेपालखोज २०७९ पुष २१ गते १८:५६

काठमाण्डौं । नेपाल टी–२० क्रिकेट लिगमा बिहीवार सम्पन्न दोस्रो खेलमा फार वेस्ट युनाइटेडले जित निकालेको छ । फार वेष्टले काठमाण्डौ नाइट्सलाई ८३ रनको फराकिलो अन्तरले हराएको हो ।

फार वेस्टले दिएको एक सय ९८ रनको लक्ष्य पछ्याएको काठमाण्डौले २० ओभरमा नौ विकेट गुमाएर एक सय १४ रनमात्रै बनाउन सक्यो । काठमाण्डौका लागि कमल ऐरीले सर्वाधिक २० रन बनाए । फार वेस्टका करन केसी, दुर्गेश गुप्ता र हशमतुल्लाह शाहिदीले दुई/दुई विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा चार विकेट गुमाएर एक सय ९७ रन बनायो । फार वेस्टका लागि हशमतुल्लाह शाहिदीले ७६ र विनोद भण्डारीले ७३ रन बनाए । बलिङतर्फ काठमाण्डौका बसिर अहमदले तीन विकेट लिए ।

आठ खेलमा चार अङ्क जोडेको फार वेस्ट तालिकाको पुछारमै छ । काठमाण्डौ भने आठ अङ्कसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया