शुक्रबार, असोज २५, २०८१

कांग्रेस नेता मिन विश्वकर्मालाई प्रश्न : यो सरकारलाई काउन्टर दिन खोज्या हो ?

नेपालखोज २०७९ पुष २३ गते १२:११

सामान्यतया संसदीय व्यवस्थामा ठूलो दलको नेतृत्वमा सरकार बन्छ । त्यो अवसरबाट नेपाली कांग्रेस बन्चित बनेको छ । ८९ सिटसहित ठूलो दल बनेको कांग्रेस गठबन्धन बचाउन नसक्दा प्रतिपक्षमा बस्नुपर्ने बाध्यता छ । मूलुकमा संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनेको छ । दोस्रो ठूलो दल नेकपा एमाले, रास्वपा, राप्रपा, जसपा र नागरिक उन्मुक्ति पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई समर्थन दिएको छ । सरकार गुमाएर प्रतिपक्षमा पुगेको कांग्रेसले नयाँ राजनीतिक समिकरण बनाउने भित्री कसरत गर्न थालेको कांग्रेस वृत्तकै सुनिन्छ ? के कांग्रेस प्रचण्ड सरकारको आयु छोट्याउने रणनीतिमा लागिसकेको हो ? गठबन्धन जोगाउन नसकेको कांग्रेसले केन्द्रीय समितिको बैठकमा कस्तो समिक्षा गर्ला ? गत प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई असयोग गरेको, बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई गर्ने भनिएको कारबाहीको स्वरुप कस्तो हुन्छ ? यीनै विषयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन बहादुर विश्वकर्मासँग सहकर्मी शिखर गजरकोटेले गरेको कुराकानीको सम्पादित अंश :


कांंग्रेसले नवगठित सरकारलाई काउन्टर दिन खोज्या हो ?
हामीले बनाउनै लागेको सरकार वार्तालाई सावधानीपूर्वक अघि बढाउन नसक्दा/नजान्दा सत्ताबाट ठूलो दल बाहिरिनु प¥यो । अब के गर्ने ? भन्ने विषयमा पार्टीमा छलफल चलिराखेकै छ । यो सरकारले पुस २६ मा विश्वासको मत लिदैछ । कांग्रेस प्रमुख प्रतिपक्ष नै भइहाल्यो । अन्य दलले के सोच्दैछ ? भन्ने कोणबाट सामान्य छलफल चलिराखेकै छ । यो सरकारलाई विश्वास मतबाट बञ्चित गर्ने गरि लागेका छैनौ ।

कांग्रेसको पत्रकार सम्मेलनमा प्रवक्ताजीले सरकारको आयु लामो छैन भन्नुभएको थियो,
उहाँले मात्र हैन्, मैले त डे वान देखिनै भनेको थिएँ । यो सरकार फरक पृष्ठभूमिका, सांगठनिक आधार भएको र नीजि आकांक्षा बोकेका पार्टीहरुको गठजोड भएकाले लामो समय टिक्न गाह्रो छ भनेकै हो । ५ दलको गठबन्धन त लामो समय टिक्न सकेन भने ७ दलको सरकार कसरी चल्ला र ? विश्वासको मत लिनै बाँकी छ । विश्वासको मत पायो भने कम्तीमा दुई बर्ष टिक्छ नै । विश्वासको मत पाउनै यो सरकारलाई समस्या पर्छ भन्ने देखिएको छ ।

भनेको कांग्रेसले यो सरकारलाई विश्वासको मत नपुगोस् भन्ने कामना गर्दैछ ?
स्वभाविक हो, एउटा प्रतिपक्ष दलले सरकार राम्ररी चलोस् । महुमत पुगोस् भन्ने कामना कहाँ गर्छ र । बहुमत नपुगोस् भन्ने चाह त छदैछ । तर अहिले हामी पार्टीको आन्तरिक व्यवस्थापनमै लागि परेका छौं ।

कांग्रेस सभापतिले जसपा, नेकपा एसका अध्यक्षलाई भेट्नु, राप्रपा अध्यक्षलाई प्रधानमन्त्रीको अफर गयो भन्ने हल्ला चल्नुले नयाँ राजनीतिक समिकरण बन्न सक्ने संभावनालाई नकार्न सकिएला ?
अहिलेको संसदको अंकगणितीय स्वरुप हेर्दा गैर कम्यूनिष्ट सरकार बन्ने संभावना त जीवितै छ । नयाँ समिकरण कांग्रेसले चाहदा मात्रै संभव छैन् । हिजो हामीले बाम–लोकतान्त्रिक गठबन्धन भन्यौ । निर्वाचनमा मत माग्न र मत साटासाट गर्न निकै समस्या भयो । अहिले बाम एकताको कुरा चलिराखेको बेला गैरबाम शक्तिको समिकरण संभव छ भन्ने कुरा राजनीतिज्ञहरुले भनिरहेकाले एक धारबाट छलफल चलिरहेकै छ । जसपा, नेकपा एकिकृत (समाजवादी), राप्रपा, लोसपा लगायतका दललाई एक ठाउँमा ल्याउने गरि छलफल हुनु स्वभाविक मान्नुपर्छ ।

ठूलो पार्टी भएर पनि आजको दिनमा कांग्रेस पार्टी शुन्यमा छ, यो विषयलाई आसन्न केन्द्रीय समितिको बैठकमा कस्तो छलफल होला ?
क्षमतामा प्रथम, अवसरमा शुन्यमा पुग्नुपर्दा गठबन्धनलाई ड्राइभ गर्न सकेनौं भन्ने महसुस हामी सबैलाई भाकै छ । त्यही धरातलमा टेकेर केन्द्रीय समितिमा गम्भिर समिक्षा हुन्छ । के कारणले यस्तो हुन गयो । कहाँ निर कमजोरी भयो ? कस्ले गर्दा भयो ? किन भयो ? जस्ता प्रश्नको जवाफ खोज्नका लागि फराकिलो प्रकारले छलफल गछौं । आरोप–प्रत्यारोपबाट पार्टी अघि नबढ्ने भएकाले पार्टीलाई शुद्धिकरण, सुदृढिकरण, एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता छ । त्यसकारण सापेक्ष र सांगठनिक उद्देश्य पुर्तीका लागि समिक्षा गछौं ।

निर्वाचनमा असहयोग गर्ने, गठबन्धनका उम्मेदवार, प्रस्तावक, समर्थकलाई कारबाही गर्ने भन्नुभाथ्यो । गठबन्धन टुटिसक्यो । अब कारबाहीको प्रकृति फेरिन्छ की ?
जुन उद्देश्यका लागि अपिल र निर्देशन गरेका थियौं । उद्देश्य पुरा नभएको आजको अवस्थामा निर्णयमा ललिचो आवश्यक छ । गठबन्धन कायमै रहेको भए अलि निर्मम बनेर अघि बढ्थ्यौं । गठबन्धन भत्किएको अवस्थामा अलि फराकिलो समिक्षा र छलफलबाट फरक किसिमको निर्णय लिनुपर्छ की भन्ने नेता भेटघाटमा छलफल चलेको पाइन्छ । तर बैठक नबसी यसै भन्न सकिन्न ।

प्रतिक्रिया