विश्वले सय वर्ष यता देखेको आर्थिक मन्दी
एजेन्सी । विश्व बैंकले हालै सन् २०२३ मा विश्वभर आर्थिक मन्दी आउन सक्ने बताएको थियो । विगत १०० वर्षमा कम्तिमा पाँचवटा विश्वव्यापी आर्थिक संकट आइसकेको छ । कहिले कसरी यस्तो संकट आयो ?
१९२९–३९ को ग्रेट डिप्रेशन : सन् १९२९ को ‘ग्रेट डिप्रेसन’ अमेरिकामा सेयरको मूल्यमा भारी गिरावटसँगै सुरु भयो र त्यसपछि यसको प्रभाव विश्वभर फैलियो । यो संकट सन् १९३९ सम्म चल्यो जसका कारण यसलाई विश्वको सबैभन्दा लामो र सबैभन्दा बढि दुस्प्रप्रभ पारेको मन्दी भनिन्छ । यो संकटको समयमा विश्वव्यापी जीडीपी लगभग १५ प्रतिशतले घट्यो भने अमेरिकामा बेरोजगारी दर २३ प्रतिशत पुगेको थियो ।
१९७५ को आर्थिक मन्दी : १९७३ मा अरब–इजरायली युद्धमा इजरायललाई समर्थन गरे बापत तेल उत्पादक देशहरूको संगठन (इएभ्ऋ) ले अमेरिका लगायत केही देशमा तेल आपूर्तिमा प्रतिबन्ध लगाएको थियो जसका कारण तेलको मूल्य झण्डै ३ सय प्रतिशतले बढयो । यही झट्काका कारण सन् १९७५ मा सातवटा औद्योगिक अर्थतन्त्र भएका देशमा पहिले मुद्रास्फीति बढ्यो र त्यसपछि मन्दी आयो । यो मन्दीबाट जर्मनी र जापान भने जोगिएका थिए ।
१९८२ को मन्दी : यो मन्दीका पछाडि धेरै कारण थिए । सन् १९७९ को इरानी क्रान्तिका बेला पनि तेलको मूल्य निकै बढेको थियो । जसका कारण अमेरिकाजस्ता ठूला देशले आफ्नो मौद्रिक नीतिलाई कडा पारे । त्यसबीच केही ल्याटिन अमेरिकी देशमा विदेशी ऋणको बोझ उल्लेखनीय रूपमा बढयो । विकसित देशहरू यो संकटबाट छिट्टै बाहिर निस्किए पनि ल्याटिन अमेरिका, क्यारेबियन र अफ्रिकाको सब–सहारा देशहरूमा विकासको गति सुस्त भयो ।
१९९१ को मन्दी : यो आर्थिक संकट १९९० – ९१ मा खाडी युद्ध पछि आयो । यो संकटमा अमेरिकी बैंकहरूको खराब अवस्था, स्क्यान्डिनेभियन देशहरूमा बैंकिङ संकट आदिले बिशेष योगदान गर्यो ।
२००८ – ०९ को आर्थिक मन्दी : यो ’द ग्रेट डिप्रेसन’ पछि विश्वको सबैभन्दा खराब आर्थिक संकट थियो । यसको सुरुवात अमेरिकाको सम्पत्ति बजारबाट भएको थियो तर चाँडै नै अमेरिकाका ठूला बैंक तथा वित्तीय संस्थाहरू यसको चपेटामा परे । बिस्तारै यो संकट विश्वभर फैलियो ।
२०२३ मा मन्दी ? : कोभिड–१९ को महामारी, माग र आपूर्तिबीचको असन्तुलन, युक्रेन युद्ध र चीनमा बारम्बारको तालाबन्दीपछि विश्वव्यापी मुद्रास्फीतिले आकाश छोएको छ । यो अवस्थाको सामना गर्न विकसित देशहरूले धेरै पटक ब्याजदर बढाएका छन् । यो क्रम भविष्यमा पनि जारी रहने विश्व बैंकको अनुमान छ र यसका कारण सन् २०२३ मा विश्वव्यापी आर्थिक मन्दी आउन सक्ने चिन्ता अर्थशास्त्रीहरूले व्यक्त गरेका छन् ।
प्रतिक्रिया