प्रदेश १ सरकारमा जान माओवादी अन्योल
विराटनगर । माओवादी केन्द्रले तत्काल सरकारमा सहभागिता नजनाउने बताएपछि प्रदेश नं १ को सरकार विस्तार अन्योलमा परेको छ । आइतबार बेलुका बसेको शीर्ष नेताको बैठकले प्रदेश भागवण्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री पाँच वर्षका लागि नै एमालेलाई दिने सहमति गरपछि माओवादीले सरकारमा सहभागी हुन आनाकानी गरेको छ ।
सरकारमा सहभागिताका लागि माओवादी केन्द्रले मुख्यमन्त्री आधा–आधा कार्यकाल हुनुपर्ने शर्त राखेको छ । सरकारमा सहभागिताका विषयमा छलफल गर्न माओवादी केन्द्रले आज दिउँसो संसदीय दलमा छलफल गर्दैछ । माओवादी केन्द्रका सांसद गणेश उप्रेतीका अनुसार आज दिउँसोको बैठकपछि सरकारमा सहभागि हुने नहुने विषयमा निर्णय हुनेछ ।
माओवादीको अन्योलतासँगै एमालेबाट नियुक्त हुने मन्त्रीको विषयमा पनि अन्योल रहेको सचिवालयले जनाएको छ । राप्रपाबाट संसदीय दलका नेता भक्ति सिटौला मन्त्री बन्ने सम्भावना छ । नेकपा माओवादी केन्द्रबाट दुर्गा चापागाईँ मन्त्री बनाउने तयारी थियो । तर केन्द्रको निर्णयप्रति असहमति जनाउँदै संसदीय दलले तत्काल सरकारमा सहभागी नहुने बताएपछि आज शपथ ग्रहण गर्ने कि नगर्ने भन्ने अन्योल छ ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो प्रदेश १ को नेतृत्व आलोपालो गर्ने सहमति गरेपछि मात्रै सरकारमा सहभागी हुने बताए । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिउँसो २ बजे शपथ ग्रहण गर्नेछन् । सपथग्रहण लगतै मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी छ । एमालेबाट २, माओवादी केन्द्र र राप्रपाबाट १–१ जना मन्त्री बनाउने उनको तयारी छ ।
प्रतिक्रिया