वार्ताका लागि अमेरिकी राष्ट्रपति मेक्सिकोमा

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका मेक्सिकन समकक्षी एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरबीच सोमबार हुन लागेको वार्तामा क्षेत्रीय आप्रवासन र लागुऔषध तस्करी लगायतका मुद्दामा छलफल हुने बताइएको छ ।
वार्ताका लागि आइतबार राष्ट्रपति बाइडेन मेक्सिको सिटी आइपुगेका हुन् । राष्ट्रपतिको पदभार ग्रहण गरेपछि उनको यो पहिले मेक्सिको भ्रमण हो ।
उनले सोमबार र मङ्गलबार लोपेज ओब्राडोर र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग पनि छुट्टा–छुट्टै भेटवार्ता गर्ने र “थ्री एमिगोस“ शिखर सम्मेलनमा सहभागिता जनाउनेछन् ।
यस्तै छलफलका लागि व्यापार र वातावरणीय मुद्दाहरू पनि जोडतोडका साथ अगाडि सारिएका छन् । वार्तामा राष्ट्रपति बाइडेनले अनियमित आप्रवासन र लागुपदार्थको तस्करीको विषयलाई मुख्यरूपमा उठाउनेछन् ।
“सिमानामा हाम्रा समस्याहरू रातारात उत्पन्न भएका होइनन् र ती रातारात समाधान पनि हुँदैनन् । तर हामी यो बिग्रिएको प्रणालीलाई ठीक पार्न एकजुट हुन सक्छौं। हामी सीमा सुरक्षित गर्न सक्छौं र अध्यागमन प्रक्रियालाई व्यवस्थित, निष्पक्ष, सुरक्षित र मानवीय बनाउन सक्छौं।“ मेक्सिको पुगेपछि बाइडेनले ट्वीट गरेका छन् ।
मेक्सिको जानेक्रममा राष्ट्पति बाइडेन सङ्कटग्रस्त सीमानाको केन्द्रमा रहेको टेक्सासको एल पासोमा केही घण्टा रोकिएका थिए ।
उनले ब्रिज अफ द अमेरिकन क्रसिङमा अमेरिकी अधिकारीहरूसँग भेट गर्दै नवीनतम सीमा प्रवर्तन प्रविधिको प्रदर्शन र भन्सार स्निफर कुकुरको प्रदर्शन लगायतका विषय विशेष चासोपूर्वक निरीक्षण गरेका थिए ।
विभिन्न किसिमका दमन, गरिबी तथा गम्भीर अपराधबाट पीडित देशहरूबाट जोखिमपूर्ण यात्रा गर्ने मानिसहरूले अवैध सीमा पार गर्ने र शरणका लागि अमेरिकामा आवेदनहरूको चाङ लागेको बेला राष्ट्रपति बाइडेनको यस भ्रमण भएको हो । अवैध आप्रवासन र लागुऔषध कारोबारले अहिले अमेरिका लगायत यस क्षेत्रका देशहरूलाई गम्भीर चुनौती थपेको छ ।
सन् २०२१ मा संयुक्त राज्य अमेरिका र मेक्सिकोले बसाइँसराइको मूल कारणहरूलाई सम्बोधन गर्न, आर्थिक विकासलाई प्रोत्साहन गर्न र सीमापार हतियारको तस्करी विरुद्धको नियन्त्रणलाई सशक्त बनाउन लागुऔषधको तस्करी विरुद्धको लडाइँको पुनःसंरचना गर्ने घोषणा गरेका थिए ।
मेक्सिको कार्टेल–सम्बन्धित रक्तपातले ग्रस्त छ जहाँ सन् २००६ मा लागुऔषध विरुद्धको लडाइमा सेना परिचालन गरिएदेखि तीन लाख ४० हाजरभन्दा बढी मानिसहरूको हत्या भएको छ ।
राष्ट्रपति बाइडेनको भ्रमणको केही दिन अघि, मेक्सिकन सुरक्षा बलहरूले कुख्यात ड्रग किंगपिन जोआकिन “एल चापो“ गुजम्यानका छोरालाई पक्राउ गरेको थियो जो अहिले अमेरिकी जेलमा आजीवन काराबामा छन् ।
अमेरिकाले ओभिडियो गुजम्यानलाई उनका बुबाले स्थापना गरेको सिनालोआ कार्टेलमा प्रमुख खेलाडी भएको आरोप लगाउँदै उनको गिरफ्तारीमा सहयोग पुर्यालउने जानकारीको लागि पाँच मिलियन अमेरिकी डलरको इनाम प्रस्ताव गरेको थियो ।
त्यसैगरी जलवायु परिवर्तनलाई सम्बोदन गर्न र स्वच्छ ऊर्जा प्रविधिहरूमा सहयोग पुर्याउँने उद्देश्य पनि शिखर सम्मेलनको एजेन्डामा हुने बताइएको छ ।
प्रतिक्रिया