शनिबार, असार १४, २०८२

संविधानको रक्षा अहिलेको प्राथमिकता : अध्यक्ष नेपाल

नेपालखोज २०७९ पुष २५ गते १६:०५

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सबै मिलेर संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले जनतालाई अनुभूत हुनेगरी सङ्घीयता कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै समाजवादका मूल मर्ममा रहेको सरकारले काम गर्नुपर्ने बताए ।

अध्यक्ष नेपालले राजनीतिक अग्रजले देश र जनतालाई सार्वभौम र स्वतन्त्र बनाउन योगदान गरेको उल्लेख गर्दै वर्तमान राजनीतिक नेतृत्वसँग पनि जनताले धेरै अपेक्षा गरेका छन्, भने । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिँदै उनले भने, ‘जनअपेक्षाअनुसार नमूना काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता बोली व्यवहारमा एकता कायम होस् ।

मुलुकमा भ्रष्टाचार, ढिलासुस्ती, दण्डहीनता, कर्तव्यविमुख प्रवृत्ति मौलाएको उल्लेख गर्दै उनले ती समस्या समाधानका लागि सबै एकजुट भएर जनतालाई सुशासनको प्रत्याभूत हुनेगरी काम गर्नुपर्ने बताए । उनले मुलुकमा बढेको कालोबजारी, महँगी र बेरोजगारीलाई अन्त्य गर्नेगरी काम गर्न सरकारलाई आग्रह गर्दै सङ्कटग्रस्त अर्थतन्त्र उकास्ने गरी काम गर्न सुझाव दिए ।

विगतका अनुभवबाट सबैले पाठ सिक्दै संविधानको रक्षा, राष्ट्रियता र स्वाभिमानको संरक्षण गर्न सबैले गम्भीरताका साथ ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले वर्तमान सरकारबाट संविधानको पूर्णपालनाको अपेक्षा गरेको बताए ।

प्रतिक्रिया