संसदको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक भोलि मंगलबार बिहान ११ बजे बस्ने भएको छ ।
सोमबारबाट सुरु भएको नवगठित प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद पशुपति शमशेर जबराले गरेका छन् । संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख चयन नहुँदासम्मम उनले बैठक संचालन गर्नेछन् । उनी राप्रपाबाट निर्वाचित समानुपातिक सांसद हुन् ।
गएको मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचन सदस्यहरु सहभागी यो नै पहिलो बैठक हो । यो प्रतिनिधिसभा संविधान जारी भएपछि दोस्रो कार्यकाल हो ।
आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेतृत्व र स्वतन्त्रबाट निर्वाचित संसदीय दलका नेताहरुले सम्बोधन गरेका थिए । साथै २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइ विभिन्न कारणले निधन भएका तत्कालीन सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो ।
बैठकले ईश्वरी न्यौपाने, चन्द्र कार्की भण्डारी, देवराज घिमिरे, प्रतिक्षा तिवारी मुखिया, बुद्धिमान तामाङ, रामकृष्ण यादव, सुशिला सिर्पाइली ठकुरीलाइ बैठक संचालनका चयन प्रस्ताव पारित गरेको छ ।
आजको बैठक सकिएको जानकारी दिँदै अध्यक्ष जबराले अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने र सोही बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने सूचना दिए ।

प्रतिक्रिया