चितवनमा महोत्सवको रमझम

चितवन । चितवनमा महोत्सवको रमझम अहिले नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १४औँ संस्करणको ‘चितवन महोत्सव–२०७९’ चलिरहेको छ । चितवन महोत्सवलाइ चितवनको गौरव र गरिमामय प्रस्तुतीका रूपमा लिइएको छ । भरतपुर पालिका प्रमुख रेनु दाहाल यस्ता मेला महोत्सवले समग्र जिल्लाको विकासमा सहयोग पुर्याउने बताउँछिन् ।
यस्ता मेला महोत्सवले आर्थिक गतिविधि चलायमान हुने उनको तर्क छ । हिजो आइतबार सुरु भएको यो महोत्सव माघ ४ गतेसम्म चल्नेछ । यसपटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आइटीका छुट्टैछुट्टै परिसर निर्माण गरिएका छन । विशेषगरी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न यसपटक तोरी र मौरीलाई प्रवर्दन गर्नेगरी तोरीबारीसहित मौरीको मस्कट महोत्सवभित्र राखिएको छ । महोत्सवमा बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्री आदिका कक्ष समेत छन् ।
यो दश दिने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेशभूषा र कलासंस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान पनि हेर्न पाइनेछ । त्यसैगरी महोत्सवअन्तर्गत नै पुस २८ देखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिभलको आयोजना गरिनेछ ।
चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही पुस २९ देखि माघ ३ गतेसम्म विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रियस्तरका सेमिनार तथा गोष्ठीहरू सञ्चालन गरिने उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले बताउनुभयो । महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने र २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकहरुको अनुमान छ ।

प्रतिक्रिया