चीनमा राहदानी नवीकरण गराउनेहरूको ताँती

एजेन्सी । चीनले विदेश यात्रामा लगाउँदै आएको प्रतिबन्ध खुकुलो तुल्याएपछि त्यहाँ पासपोर्ट बनाउने र अद्यावधिक गर्ने मानिसहरूको भीड देखिन थालेको छ । सोमबार चिनभरका अध्यागमन कार्यालयहरू बाहिर ठूलो भीड देखियो । चीनले आइतबार नै कोभिडका कारण लगाएको यात्रा प्रतिबन्ध खुकुलो पारेको थियो । यस्तो प्रतिबन्ध तीन वर्ष देखि जारी थियो । चीनले बिस्तारै आफ्नो ’जीरो–कोभिड’ नीति फिर्ता लिइरहेको छ । गत महिना सुरु गरिएको यस्तो परिवर्तन अन्तर्गत आइतबार यात्रामा प्रतिबन्ध हटाइएको थियो ।
चीनको राजधानी बेइजिङमा राहदानी नवीकरण गर्न थुप्रै मानिस लाइनमा बसेका थिए । तिनीहरूमध्ये ६७ वर्षीय याङ जियागुओ थिए जो एक सेवानिवृत्त कर्मचारी हुन् । उनी छोरीलाई भेट्न अमेरिका जान लागेको कुरा बताउँछन । याङ भन्छन्, ‘गत वर्ष नै उनको बिहे भयो तर हामी त्यहाँ जान सकेनौं । अहिले त्यहाँ जान पाउँने भएपछि खुसी लागेको छ ।’
बेइजिङका ६१ वर्षीय माइकल ह्याराल्ड आइतबार वार्साबाट चिन पुगेका थिए । डिसेम्बरमा क्रिसमस मनाउन पोल्याण्ड पुगेका ह्याराल्डले भने, ‘परिस्थिति सामान्यमा फर्किनु ठूलो राहत हो । अब त चीन आउनुहोस्, विमानबाट ओर्लनुहोस्, ट्याक्सी लिनुहोस् र होटल जानुहोस् अनि मज्जाले घुम्नुहोस ।’ नियम परिवर्तन नहुँदा सम्म चिनमा धेरै दिन क्वारेन्टाइनमा बस्नुपथ्र्योे भने धेरै चरणमा परीक्षणहरू समेत गराउनु पथ्र्यो । टिभी च्यानल सीसीटीभीले दिएको रिपोर्ट अनुसार अहिले दक्षिण कोरियाबाट चीनको उडानको टिकट पूर्ण रूपमा बिकिसकेको छ र यो रिपोर्ट चिनियाँ सोशल मिडिया साइट वाइडुमा सबैभन्दा धेरै पढिएको थियो । ‘फ्लाइट मास्टर’ वेबसाइटको तथ्यांकअनुसार आइतबार चीनबाट २४५ उडान आए र गए जबकि २०१९ मा यहि दिन उडानहरूको कुल संख्या २,५४६ थियो ।
जताततै उत्साह : सरकारी नीतिमा आएको यो परिवर्तनको प्रभाव शेयर बजारमा पनि देखिएको छ । लगानीकर्ताहरूले आशा गरिरहेका छन् कि चिनलाइ पुनः खोल्दा त्यहाँको १.७ ट्रिलियन डलरको अर्थतन्त्रलाई पुनर्जीवित गर्न मदत मिल्नेछ जुन हालको दशक मै सबैभन्दा सुस्त वृद्धि दरसँग जुधिरहेको छ ।
अहिले क्वारेन्टाइन जस्ता मापदण्ड खारेज भएपछि विदेश जानेहरुको संख्यामा उल्लेख्य बृद्धि हुने अनुमान गरिदैछ । अहिलेसम्म विदेशबाट फर्किएकाहरुले लामो क्वारेन्टाइनमा बस्नुपर्ने नियम थियो । अब उनीहरुले क्वारेन्टाइनमा बस्नु पर्दैन । तर, समस्या के छ भने उडानको अभाव छ र धेरै देशहरु चीनबाट आउने यात्रुहरूप्रति कडा छन् । जर्मनी, अष्ट्रेलियालगायतका धेरै देशले चीनबाट आउने यात्रुका लागि कोभिड परीक्षण अनिवार्य गरेका छन् । चीनमा पनि देश छाड्नुअघि कोभिड परीक्षण गराउनुपर्ने हुन्छ ।
बढ्दो कोभिडको चिन्ता : चीनमा कोभिडका केसहरूमा उछाल आएको छ । त्यहाँका अधिकारीहरूले संक्रमणका घटना बढ्दै गएको कुरा बारम्बार भनिरहेका छन् तर त्यसलाई खासै महत्व दिइएको देखिदैन् । कम्युनिष्ट पार्टीको अखबार पिपुल्स डेलीले सरकारको कोभिड नीतिको प्रशंसा गर्दै सम्पादकीयमा लेखेको छ, ‘जीवन फेरि अगाडि बढेको छ । आज भाइरस कमजोर भएको छ र हामी बलियो भएका छौं ।’ ८ जनवरीमा चीनले कोभिडका कारण ५,२७२ जनाको मृत्यु भएको तथ्यांक दिएको थियो ।
यो संसारको कुनै एक देशमा सबैभन्दा कम मृत्यु भएको संख्या हो । यद्यपि विश्व स्वास्थ्य संगठनले चीनले सही तथ्यांक नदिइरहेको र त्यहाँ मृत्यु हुनेहरुको संख्या धेरै रहेको बताएको छ । धेरै अन्तराष्ट्रिय विज्ञहरूले चिनमा संक्रमण फैलिने क्रमलाई मध्यनजर गर्दै यो वर्ष त्यहाँ १० लाखसम्मको ज्यान जान सक्ने अनुमान गरेका छन् ।
रोयटर्स/एएफपी
प्रतिक्रिया