नेपालखोज दिनभरी : आजका हेडलाइन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई २६८ सांसदको विश्वासको मत प्राप्त भएको छ । संसदमा उपस्थित २७० सांसदमध्ये २६८ सांसदले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएका हुन् । यो बहुमत संख्या हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मतको बदलामा नेपाली कांग्रेसलाई केही दिने सहमति नभएको बताएका छन् । प्रतिनिधि सभामा मंगलबार विश्वासको मत पाएपछि संसद भवनबाट बाहिरिने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिदै प्रचण्डले आज पाएको विश्वासको मतले जिम्मेवारी थपिएको बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध रहेको बताएकी छिन् । कर्णाली कलाकार समाज र कनका सुन्दरी फिल्म्सले संयुक्तरूपमा आज यहाँ आयोजना गरेको ‘रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९’ को उद्घाटन गर्दै उनले आधुनिक, भौतिक र पूर्वाधार विकासका दृष्टिले कर्णाली पछि परे पनि सभ्यता र संस्कृतिमा समृद्ध रहेको बताइन् ।
प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ । नेपालको संविधानमा निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने प्रावधान छ ।
प्रदेश १ सभामुखमा माओवादी केन्द्रका प्रदेश सांसद बाबुराम गौतमले सत्तारुढ दलको पक्षबाट उम्मेदवारी दर्ता गराएका छन् । सभामुखको निर्वाचन बिहीबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा हुनेछ ।
वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन् । कूल ११० सांसद रहेको प्रदेशसभामा जम्कटेलल ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षे कार्यकालमा सडक, सिँचाइ, खानेपानी, कृषि र स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेखनीय काम भएको जनाएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री त्रिलोचन भट्टले यो अवधिमा चार सय किलोमिटर सडक कालोपत्रे, सात सय ६९ किमी सडक ग्राभेल र एक हजार २३ किमी कच्ची सडक निर्माणमा सफलता मिलेको बताए ।
गठबन्धन दलमा आन्तरिक तयारी नपुगेको भन्दै मङ्गलबार मधेस प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्ने कार्य हुन सकेन । गठबन्धनका अन्य दलले चिसोका कारण सांसद जनकपुरमा आइपुग्न ढिलाइ भएको र अन्य व्यवस्थापकीय तयारी बाँकी रहेको जनाएपछि दाबी पेस गर्न नसकिएको जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश प्रमुख रामबाबु यादवले जानकारी दिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राज्य प्रणाली र गणतान्त्रिक व्यवस्थाप्रति मुलुक खुसी नरहेको भन्दै यसको पुनरावलोकन आवश्यक रहेको बताएका छन् । शाहवंशी राजसंस्थाका संस्थापक बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०१ औं जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै गद्दीबाहिर रहेका राजाले शाहवंशीय राजसंस्था आफ्नो जिम्मवारीबाट नचुक्नेसमेत प्रष्ट पारेका छन् ।
नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल टी–२० लिगको उपाधिका लागि लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किंग्स भिड्ने भएका छन् । मंगलबार सम्पन्न दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले पराजित गरी विराटनगरले लुम्बिनीसँगको भेट निश्चित गरेको हो ।
प्रतिक्रिया