शनिबार, असार १४, २०८२

वर्तमान सरकार चुनौतीलाई चिर्न सफल हुन्छ : प्रधानमन्त्री

नेपालखोज २०७९ पुष २७ गते १४:२०

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार चुनौतीलाई चिर्न सफल हुने बताएका छन् । साथै उनले अब मुलुकमा सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ युगको थालनी गर्नुपर्ने बताएका छन् ।

माओवादीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै उनले मुलुकको आर्थिक समृद्धिलाई आफूले सपनाका रुपमा लिएको र वर्तमान सरकारले त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘मैले यसलाई सङ्कल्प र प्रतिबद्धताका रुपमा लिएको छु, एउटा प्रधानमन्त्रीले चाहेर मात्र पनि हुँदैन, समृद्धिको यात्रा हासिल गर्न विभिन्न जनसङ्गठनले साथ दिनुपर्छ’, उनले भने, ‘सरकार र पार्टीलाई यो चुनौतीपूर्ण अवसरलाई सफल पार्न तपाइँहरुले संस्थागत रुपले पहलकदमी गर्नुपर्नेछ ।’

सरकारको नेतृत्वका रुपमा पाएको यो अवसरलाई सदुपयोग गर्नुपर्नेमा आफू सचेत रहेको जनाउँदै उनले वर्तमान सरकारले चुनौतीलाई चिर्न सफल हुने बताए । ‘जनताको विकास निर्माणसम्बन्धी आकाङ्क्षा पूरा गर्न र भ्रष्टाचार नियन्त्रणमा कठोर रूपमा अघि बढ्नुपर्छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘आर्थिक समृद्धिको जुन कल्पना गरेका छौँ । त्यसलाई पूरा गर्नु छ । त्यसपछि देशमा नयाँ युग सुरु हुनेछ ।’

प्रतिक्रिया