बुधबार, वैशाख १२, २०८१

प्रकृतीले दिएको उपहार प्रयोग गर्ने कि किन्ने ?

डा. अरुणा उप्रेती २०७९ पुष २८ गते ९:५४

पर्याप्त मात्रामा घाममा नबस्ने, वातानुकूलित कोठामा मात्र बस्ने, घाममा हिँड्दा छाला कालो हुन्छ भनेर लामा पहिरन लगाएर हिँड्ने भएकाले झन्डै ६९ प्रतिशत भारतीयमा भिटामिन डिको कमी देखिएको कुरा टाइम्स अफ इन्डियाको जुलाई २०, २०१५ मा प्रकाशित एउटा समाचारमा उल्लेख छ । मैले चिनेकी निशा नामकी एक महिलामा थकाइ लाग्ने, हातखुट्टा दुखिरहने, बिहान उठ्दा पनि आराम गरेको अनुभूति नहुने समस्या थियो । उनी समस्या लामो समयसम्म तानिएपछि डाक्टरकहाँ गइन् ।

धेरै डाक्टरकहाँ गइसकेपछि बल्ल एकदिन कुनै स्त्रीरोग विशेषज्ञले उनलाई भिटामिन डीको जाँच गराउन भनिन् । अहिले धेरै औषधि कम्पनीले सकेसम्म बढी मानिसले क्याल्सियम र भिटामिन डी प्रयोग गर्नुपर्छ भन्ने कुरा बाहिर ल्याउँदैछन्, विदेशमा पनि स्वास्थ्यकर्मीले महिलालाई २०–२५ वर्षको उमेरदेखि नै क्याल्सियम तथा भिटामिन डीका चक्की दिन थाल्छन् । जुनसुकै समस्या औषधिले मात्र समाधान गर्ने हाम्रो बानीका कारण हामी प्राकृतिक कुरा उपयोग गर्न बिर्सदै एवं चुक्दै गएका छौं । घाम नलाग्ने देशहरूमा भिटामिन डीको चक्की वा खानामा भिटामिन डी मिसाएर दिनुको औचित्य होला, तर नेपालमा त्यसको औचित्य छैन ।

भिटामिन डीको चक्कीले केवल औषधि कम्पनी तथा पसलको आम्दानी बढाउँछ । यसले स्वास्थ्यमा पनि सकारात्मक असर गर्दैन । म ५६ वर्षकी भएँ । म भिटामिन डी प्राप्त गर्न घाममा बस्छु । क्याल्सियमका लागि ज्वानो, आलस, तिल, दूध, दही, गहत तथा सिमी आदि खान्छु । मलाई अहिलेसम्म भिटामीन डीको कमी भएर ढाड तथा हड्डी दुखेको छैन । भिटामिन डी बोसोमा घुलनशील भएर लामो समय रहने हुनाले एक–दुई दिन घाममा नबस्दैमा खासै समस्या परिहाल्दैन । त्यसैले वर्षाका दिनहरूमा घाममा बस्न पाइन भनेर चिन्ता गर्नुपर्दैन । छालामा सीधै सूर्यको किरण पुग्ने गरी हप्तामा ४–५ दिन, २०–२५ मिनेटका लागि बसे पुग्छ ।

जाडोमा कुनै खुल्ला मैदानमा घाममा बसेर सुन्तला र बदाम खाँदा कति आनन्द आउँछ तर त्यसले आनन्द मात्र दिँदैन कि स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्छ भन्ने कुरा हामीलाई पत्तो हुँदैन । सबैलाई घाम चाहिन्छ, शारीरिक विकासका लागि मात्र होइन मानसिक रूपमा स्वस्थ रहन पनि घाम आवश्यक छ । निजी बैंकमा काम गर्ने एक ३० वर्षीया महिला हातखुट्टा एवं जिउ दुख्यो भनेर डाक्टरकहाा गइन् । डाक्टरले उनको रगत जाँच गरेपछि उनलाई भिटामिन डीको कमी भएको कुरा बताए । हरेक १५–२० मिनेट घाममा बस्न सल्लाह दिए । शरीरको बलियो अस्थिपञ्जर तथा समग्र स्वास्थ्यका लागि भिटामिन डी अति नै महत्वपूर्ण छ । शरीरका महत्वपूर्ण मांसपेशी, मुटु, फोक्सो, मस्तिष्क आदि अंगलाई सरल र सक्षम रूपमा काम गराउन तथा शरीरमा हुन सक्ने बाह्य संक्रमणसाग लड्ने क्षमता वृद्धि गर्न भिटामिन डीको ठूलो महत्व हुन्छ ।

हामीले खाने खानामा जति नै मात्रामा क्याल्सियम तथा फस्फोरस भए पनि हाम्रो शरीरमा भिटामिन डी नभए वा कमी भए खानामा निहित ती क्याल्सियम र फस्फोरस हाम्रो शरीरले ग्रहण गर्न सक्दैन । त्यसैले सूर्यको किरणबाट प्राप्त हुने भिटामिन डी अत्यावश्यक छ । शरीरलाई आवश्यक पर्ने भिटामिन डीको करिब ८०–९० प्रतिशत सूर्यको किरणबाट प्राप्त हुन्छ भने करिब १०–२० प्रतिशत हामीले खाने खाना वा अन्य पौष्टिक तत्वबाट प्राप्त गर्छौं । जब भिटामिन डी हाम्रो शरीरमा हुन्छ, त्यो एक प्रकारले हार्माेनमा परिणत हुन्छ । यस्तो हार्माेनको कमी भयो भने अनेकौं समस्या देखापर्छन् । शरीरमा क्याल्सियम र फस्फोरसको अवशोषणका लागि भिटामिन डी अति नै आवश्यक हुन्छ । शरीरको प्रतिरक्षा प्रणाली वा रोगसँग लड्ने क्षमता वृद्धि गर्न पनि भिटामिन डी चाहिन्छ

भिटामिन डीले नै बालबालिकामा दम एवं स्वासप्रश्वाससम्बन्धी रोगको समस्या घटाउँछ । यसले महिलामा हुनसक्ने बाथ रोगको जोखिम कम गर्छ । त्यसैले महिला स्वास्थ्य राम्रो राख्न मजासँग घाममा बस्नुपर्छ अनि छाला कालो हुन्छ भन्ने चिन्ता नगरी हड्डी बलियो बनाउने काम गर्नुपर्छ । किशोरीहरूको हड्डी बलियो भयो भने गर्भावस्था एवं प्रसूतिका बेला पनि स्वास्थ्य सामान्य रहन्छ र उमेर ढल्कदै गएपछि हड्डी दुख्दैन । प्रकृतीले दिएको उपहार प्रयोग गर्ने कि किन्ने ?

प्रतिक्रिया