विमान दुर्घटना : आज देशभर सार्वजनिक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने
त्रिभुवन विश्वविद्यालयले लिने आजका परीक्षा भने नरोकिने

काठमाडौं । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज देशभर सार्वजनिक बिदा दिइएको छ ।
उक्त दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकबाटै राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय पनि गरिएको छ ।
आज अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताएका छन् । मन्त्रालयका अनुसार २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको कार्यक्रम पनि स्थगित गरिएको छ ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयले लिने आजका परीक्षा भने नरोकिने भएको छ । पोखरामा भएको हवाई दुर्घटनामा सरकारले माघ २ गते शोक बिदा दिएपनि त्रिविको परीक्षा नरोकिने जनाएको छ । त्रिविको मानविकि तथा समाजशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्यले मानविकि सङ्कायले सञ्चालन गरेको परीक्षा आज माघ २ गते नरोकिने बताए ।
उनले हिजाे सूचना जारी गर्दै माघ २ गते सरकारले पोखरामा भएको हवाई दुर्घटनामा शोक बिदा दिएपनि मानविकि सङ्कायद्धारा प्रकाशित गरिएको परीक्षा तालिका अनुसार नै स्नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा सञ्चालन हुने जानकारी दिए ।
प्रतिक्रिया