शनिबार, असोज २६, २०८१

कुल कम्पनीहरु मध्ये बाग्मती प्रदेशमा मात्र ७१ प्रतिशत हिस्सा, कर्णालीमा एक प्रतिशत मात्र

नेपालखोज २०७९ माघ २ गते १३:३१

काठमाडौं । नेपालमा दर्ता भएका कुल कम्पनीहरुको संख्या झण्डै तीन लाख वटा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि सम्वन्धी पछिल्लो प्रतिवेदन अनुसार प्रदेशगत रुपमा दर्ता भएका कम्पनीहरुको संख्या आर्थिक वर्ष २०७८/७९ फागुन मसान्त सम्म दुई लाख ८३ हजार तीन सय ५८ वटा पुगेको छ ।

प्रतिवेदन अनुसार दर्ता भएका कम्पनीहरुमा सबैभन्दा धेरै बाग्मती प्रदेशको ७१ दशमलव एक प्रतिशत कम्पनीहरु दर्ता भएको देखिएको छ । यस अवधिमा सबैभन्दा कम कम्पनीहरु भने कर्णाली प्रदेशमा दर्ता भएको उक्त प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार कर्णाली प्रदेशमा दर्ता भएको कुल कम्पनी संख्याको एक दशमलव दुई प्रतिशत हिस्सा मात्र रहेको छ ।

राष्ट्र बैंकका अनुसार लुम्बिनी प्रदेशमा भने दर्ता भएका कुल कम्पनी संख्याको छ दशमलव छ प्रतिशत हिस्सा रहेको छ । यसैगरी, प्रदेश १ को सात दशमलव चार प्रतिशत, मधेश प्रदेशको छ दशमलव दुई प्रतिशत, गण्डकी प्रदेशको पाँच दशमलव पाँच प्रतिशत र सुदूरपशिचम प्रदेशको दुई प्रतिशत हिस्सा रहेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ फागुन मसान्त सम्म मुलुकमा पाँच हजार तीन सय ८५ वटा विदेशी लगानी स्वीकृती पाएका उद्योगहरु रहेको छ ।

विदेशी लगानी स्वीकृती पाएका उद्योगहरुमा सबैभन्दा धेरै बागमती प्रदेशको ८२ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशको शुन्य दशमलव नौ प्रतिशत हिस्सा रहेको प्रतिवेदनमा उल्लेख छ । यि बाहेक लुम्बिनी प्रदेशको एक दशमलव चार प्रतिशत हिस्सा रहेको छ । यसैगरी, गण्डकी प्रदेशको आठ दशमलव चार प्रतिशत, मधेश प्रदेशको तीन दशमलव एक प्रतिशत, प्रदेश १ को दुई दशमलव पाँच प्रतिशत र कर्णाली प्रदेशको एक दशमलव सात प्रतिशत हिस्सा रहेको राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया