निर्मला पन्त प्रकरणमा ५ जनाको डीएनए संकलन
काठमाडौं । कन्चनपुरको भीमदत्त नगरपालिकामा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्त प्रकरणमा थप ५ जनाको डीएनए संकलन गरिएको छ । संकलित डिएनए परिक्षणका लागि पठाइएको छ । डीआईजी दुर्गा सिंहको नेतृत्वमा गठन भएको छानबिन समितिले कन्चनपुर पुगेर ५ जनाको डीएनए संकलन गरेको हो ।
रवि लामिछाने गृहमन्त्रीमा नियुक्त भएलगत्तै निर्मला पन्तका हत्यारा पक्राउ आफ्नो पहिलो प्राथमिकता भएको बताएका थिए । त्यसपछि प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबीमा कार्यरत डीआईजी सिंहको संयोजकत्वमा दुईजना मनोचिकित्सकसमेत रहने गरी छानबिन समिति गठन गरेको थियो ।
निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा हालसम्म एक सयभन्दा बढीको डीएनए परीक्षण भइसकेको छ । मृतक पन्तको भेजिनव स्वाबमा भेटिएको डीएनए प्रोफाइलसँग म्याच नभएपछि यो घटना प्रहरीका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ ।
२०७५ साउन ११ गते निर्मलाको शव स्थानीय उखुबारीमा अर्धनग्न अवस्थामा भेटिएको थियो । उनी अघिल्लो दिन साथीको घरमा जान्छु भन्दै निस्किएकी थिइन् । सीआईबी नेतृत्वको छानबिन टोलीले करिब एक महिनापछि स्थानीय दिलिपसिंह विष्टलाई अभियुक्तका रुपमा प्रस्तुत गरेपनि डीएनए नमिलेपछि उनिहरु छुटेका थिए ।
प्रतिक्रिया