विमान दुर्घटना : पोखरामा पहिचान नभएका शव आज काठमाडौं ल्याइँदै

काठमाडाैं । पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव आज हेलिकप्टरबाट काठमाठौँ ल्याइने छ ।
दुर्घटनामा परेकामध्ये हालसम्म ७० जनाको शव फेला परेकाेमा पहिचान भएको २४ जनाको शव पोखरामा परीक्षण गरिएकाे र बाँकीको नेपाली सेनाको हेलिकाेप्टरबाट आज बिहान ८ बजे काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा थप परीक्षणका लागि ल्याइने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार आफन्तबाट पहिचान भएका शवहरु पोखरामा नै शवपरीक्षण गरी परिवारलाई हस्तान्तरण गरिने छ । पहिचान हुन नसकेका शवको हवाई दुर्घटनाको अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार मृतकको शरीरको भिसेरा र डिएनए परीक्षण लगायतका अन्य आवश्यक प्रक्रिया पूरा गरेर मात्र हस्तान्तरण गर्न सकिने राय फरेन्सिक विभागका चिकित्सकहरुले दिएका थिए ।
शव राजधानी लैजान हिजाे नै सेनाको हेलिकाेप्टर पोखरा आए पनि प्रक्रिया पूरा नहुँदा रोकिएको थियो । दुर्घटनामा परेको विमानको ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर सुरक्षित रुपमा प्राप्त भएकाले सशस्त्र प्रहरीमार्फत नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया