टीकापुर महोत्सव बुधबारदेखि

काठमाडाैं । ‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना : समृद्ध सुदूरपश्चिमको परिकल्पना ’ भन्ने नाराका साथ माघ ४ गते बुधबार देखि माघ १६ गते सम्म टिकापुर महोत्सवको आयोजना हुँदैछ । टीकापुर उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७९ को तयारी अन्तिम चरणमा पुगेको आयोजकहरुले जनाएका छन् । महोत्सवस्थलमा टेन्ट निर्माणदेखि स्टल बुकिङका काम भइरहेको र महोत्सवको ९० प्रतिशत तयारी पूरा भएको संघको भनाइ छ ।
संघका अध्यक्ष चक्रपाणी सापकोटाका अनुसार, रमाइलो मेलामा झुलादेखि लिएर टेन्टको सबै काम भएको छ यसमा पनि १० प्रतिशत बाँकी छ । महोत्सव स्थलभित्र ९० वटा स्टल राखिने छन् जसमा थारु गाउँ, मगर गाउँ, कृषि मेला, शैक्षिक प्रदर्शनी, स्थानीय उत्पादन तथा महिला उद्यमीका स्टल रहने अध्यक्ष सापकोटाले जानकारी दिए । उनले अघिल्ला महोत्सवभन्दा यसपटकको महोत्सवमा धेरै कुरा परिवर्तन भएको समेत बताएका छन् । यस पटक बाल उद्यान, शैक्षिक क्रियाकलापका स्टल समेत राखिएका छन्, विद्यार्थीलाई सिकाइ हुने खालका स्टल पनि छन् , स्टल व्यवस्थापन समितिका संयोजक बमबहादुर ओलीले भने, टीकापुर बहुप्राविधिक शिक्षालयले कार्यक्रम पनि गर्दैछ ।
यसपटक विद्यार्थी र अन्यका लागि ६० हजार टिकट छापिएको छपाइ तथा टिकट व्यवस्थापन समितिका संयोजक लोकेश साउँदले जानकारि दिएका छन । मेलामा प्रवेशका लागी विद्यार्थीहरुलाइ ५० रुपैयाँ तथा अन्यका लागि ७० रुपैयाँ शुल्क तोकिएको साउदले बताए भने तीन सय रुपैयाँको सिजनल टिकटको बिक्री सुरु भैसकेको उनले जनाए । महोत्सव स्टेज परिसरमा इन्टरनेट र सुरक्षाका लागि सिसी क्यामेरा जडान गरिएको प्रविधि व्यवस्थापन समिति संयोजक लालबहादुर चौधरीले बताएका छन् ।
यो महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि समेटिएको छ, महासचिव नवराज रिमालले बताए , हामीले स्थानीयस्तरमा रहेका कला संस्कृति संरक्षण गर्ने उद्देश्यले स्थानीय कलाकारहरुलाई समेटेका छौँ भने महोत्सवमा विभिन्न विद्यालयका प्रस्तुतिसमेत रहनेछन् । महोत्सवले आन्तरिक पर्यटन प्रवर्धन गर्ने अपेक्षा संघले लिएको छ । वाणिज्य संघले महोत्सवमा मनोरञ्जनसँगै व्यापारिक विकास र टीकापुरका सम्भाव्यताको खोजी हुने बताएको छ ।
आयोजकले महोत्सवका माध्यमबाट यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा समेत सहयोग पुग्ने अपेक्षा लिएको छ । महोत्सवमा आउनेहरु यहाँका पर्यटकीय ठाउँ टीकापुर पार्क, सत्ती कर्णाली सामुदायिक वन तथा यहाँका ताल तलैया घुम्नेछन्, महासचिव रिमाल भन्छन, महोत्सवले यो क्षेत्रको व्यापारिक गतिविधिसमेत बढ्नेछ । टीकापुरमा २०६५ देखि महोत्सव आयोजना गर्न थालिएको हो ।

प्रतिक्रिया