यती एयरलाइन्स दुर्घटनामा मृतकका परिवारले बिमा बापत कति रकम पाउँछन् ?

काठमाडौं । यती एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटनामा सबै यात्रुको मृत्यु पुस्टि भैसकेको छ ।
विमानमा ६८ जना यात्रु तथा ४ जना चालक दलका सदस्य गरी ७२ जना सवार थिए । बिमानका चारैजना चालक दलका सदस्य नेपाली हुन भने त्यसमा नेपाली यात्रुको संख्या ५३ , विदेशी यात्रुको संख्या १० तथा भारतीय यात्रुको संख्या ५ थियो ।
यती एयरलाइन्सले विमानमा सवार यात्रुहरुको बीमा हिमालयन जनरल इन्स्योरेन्समा गरेको थियो जुन हालैको मर्जर पछि हिमालयन एभरेष्ट इन्स्योरेन्स भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले यसको पुनर्बीमा वेलायती कम्पनी एमएआरएस सँग गराएको थियो । अहिले दुर्घटना भएको विमानको क्षति मूल्याङ्कन गर्न सिङ्गापुरबाट सर्भेयर समेत बोलाईसकिएको छ ।
मृतकका परिबारले कति पाउँछन् रकम ?
नेपालमा व्यवसायिक हवाई उडान शुरु भएदेखि नै आन्तरिक उडानमा सवार यात्रुको बीमा रकम २० हजार अमेरिकी डलर कायम गरिएको थियो । आजसम्म पनि उक्त बीमा नै कायम छ । यस अनुसार हवाई जहाजमा सवार प्रत्येक यात्रुको बीमा २० हजार अमेरिकी डलरको हुन्छ । यता चालक दलका सदस्यको बीमा भने ४० हजार अमेरिकी डलरको हुन्छ । नेपाल राष्ट्र बैंकको बिनिमय दर अनुसार यो अमेरिकी डलर करिब २६ लाख नेपाली रुपैयाँ बराबर हुन आउँछ ।
अन्य बीमाभन्दा हवाई बीमामा अत्यधिक जोखिम हुन्छ । नेपाली बीमा कम्पनीहरुले थोरैमात्र जोखिम राखेर बाँकी जोखिम पुर्नबीमा मार्फत् बाहिर पठाउने गरेका छन । जोखिम धेरै हुने भएकाले बीमा कम्पनीहरुले हवाई बीमाको पुर्नबीमा प्रख्यात पुर्नबीमा कम्पनीहरुमा गराउँछन् ।
हवाई जहाज वा उक्त हवाई जहाजका कारण धन, जन तथा सामान आदिमा हुने नोक्सानीको क्षतिपूर्तिका लागि गरिने बीमालाई हवाई बीमा भनिन्छ ।
प्रतिक्रिया