आपतकालिन अवस्थामा पनि लिमामा नयाँ र्याली

काठमाडाैं । पाँच साताको घातक अशान्तिपछि हजारौं प्रदर्शनकारीहरू सोमबार राजधानीतिर लागेपछि पेरुका राष्ट्रपति डिना बोलुआर्टेविरुद्ध नयाँ र्याली शुरु भएको छ ।
व्यवस्था कायम गर्न आपतकालीन अवस्था घोषणा गरिएपनि अधिकारीहरूलाई दबाब कायम राख्न देशभरका प्रदर्शनकारीहरू सप्ताहन्तदेखि लिमातर्फ लागेका छन् ।
पेरूमा नयाँ निर्वाचन र राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै पाँच सातादेखि जारी झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । राजधानी लिमा र अन्य तीन क्षेत्रमा आइतबार आपतकालीन अवस्था घोषणा गरिएको छ । राष्ट्रपति डिना बोलुआर्टेको विरोधमा हप्तौंदेखि जारी प्रदर्शन कम हुने कुनै सङ्केत देखिएको छैन ।
राष्ट्रपति नयाँ निर्वाचन र बोलुआर्टेको राजीनामाको माग गर्दै भएका प्रदर्शनका क्रममा भएका झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको पुष्टि पेरूका मानव अधिकार आयुक्तले गरेका छन् ।
गत डिसेम्बर ७ मा पेड्रो क्यास्टिलोलाई महाभियोगबाट पदच्युत गरी पक्राउ गरेपछि बोलुआर्टेले दक्षिण अमेरिकी यो देशको पहिलो महिला राष्ट्रपतिको रूपमा पदभार ग्रहण गरेका थिए
वामपन्थी पूर्व ग्रामीण विद्यालयका शिक्षक तथा युनियनका नेता क्यास्टिलोले आफ्नो १८ महिनाको कार्यकालमा संसदमा चर्को विरोधको सामना गर्नुपरेको थियो भने उहाँविरूद्ध भ्रष्टाचारको आरोपबारे थुप्रै आपराधिक अनुसन्धानहरू शुरू भएका छन् ।
सरकारले लिमा, कुस्को, कालाओ र पुनो क्षेत्रमा शनिबार मध्यरातदेखि ३० दिनका लागि सङ्कटकालीन अवस्था थप गरेको छ । सङ्कटकालको घोषणाले आवागमन र भेला हुने स्वतन्त्रता जस्ता संवैधानिक अधिकारलाई पनि निलम्बन गरेको राजपत्रमा प्रकाशित आदेशमा उल्लेख छ ।








प्रतिक्रिया