‘राम्रो ज्ञान भएको र परीक्षाबाट योग्य देखिएको व्यक्तिलाई मात्र बिमा अभिकर्ताकारूपमा छनौट गर्नुहोस्’

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमाका बारेमा राम्रो ज्ञान भएको, परीक्षाबाट योग्य देखिएको र बिमाप्रतिको जिम्मेवारी बोध गरेको व्यक्तिलाई मात्र बीमा अभिकर्ताका रूपमा छनौट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।
नेपाल बिमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा हिजाे आयोजित बिमा अभिकर्ता व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष सिलवालले बिमाप्रति प्रतिवद्ध, दक्ष र योग्य बिमा अभिकर्ताबाट बिमा व्यवसायको गुणस्तर र बिमाप्रतिको विश्वास बढ्ने तथा कम्पनी पनि सशक्त हुने भएकाले बीमा अभिकर्ता इजाजतपत्रका लागि सिफारिश गर्दा यी विषयमा गम्भीर हुन निर्देशन दिए ।
अध्यक्ष सिलवालले भने, ‘एउटा बीमकको बीमा अभिकर्ताले अर्को समान किसिमको बीमकको बीमा अभिकर्ता भएर काम गर्न नपाउने कानूनी व्यवस्था छ । अब बीमा कम्पनीले आफ्नो बीमा अभिकर्ता अर्को कम्पनीको बीमा अभिकर्ता छैन भन्ने निश्चित गर्नुपर्छ । बीमा अभिकर्ताको जिम्मा कम्पनीले लिनुपर्छ । बीमा अभिकर्ता हुन तोकिएको परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ ।’
नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले विगतका कमी कमजोरी नदोहोरिने गरी सङ्ख्याभन्दा गुणस्तरलाई ध्यान दिएर काम गर्न तथा इजाजतपत्र नलिएकालाई बिमा अभिकर्ताका रूपमा काम नगर्न÷नगराउन बीमा कम्पनीहरूलाई निर्देशन दिए ।
नेपाल बिमा प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले बीमकले बिमा अभिकर्ता छनौट गर्दा अन्य बीमा कम्पनीले आफूसँग उक्त बिमा अभिकर्ताको कुनै लेनदेन नभएको मञ्जुरीनामा दिएको वा बिमा अभिकर्ता स्वयम्ले अन्य बिमा कम्पनीमा आफ्नो कुनै लेनदेन बाँकी नरहेको कबुलियतनामा गरेको हुनपर्ने व्यवस्था रहेको जानकारी दिए ।
कार्यक्रममा नेपाल बिमा प्राधिकरणका सहायक निर्देशक शम्भुप्रसाद मिश्रले बिमा अभिकर्ता व्यवस्थापनका लागि प्राधिकरणबाट संचालनमा ल्याउन लागिएको अनलाइन प्रणालीका बारेमा प्रस्तुती गरेका थिए ।
कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी र निर्देशक पूजन ढुङ्गेल(अधिकारी) उपस्थित रहेका थिए । अन्तरक्रिया कार्यक्रममा जीवन बिमा कम्पनीहरूका बिमा अभिकर्ता शाखाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया