सभामुख उम्मेदवार चयन गर्न बसिरहेको बैठकमा देउवालाई प्रधानमन्त्रीको फोन

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई टेलिफोन गरेका छन् ।
बुधबार बिहान देउवानिवास धुम्बाराहीमा पदाधिकारी बैठक बसिरहेका बेला प्रधानमन्त्री प्रचण्डले फोन गरेर समझदारी कायम गरिने र केही समय कुर्न अनुरोध गरेका थिए ।
सोही अनुरुप कांग्रेसले सभामुखमा उम्मेदवार दिने निर्णय गरेपनि उम्मेदवारको नाम टुंगो लगाइसकेको छैन । उसले महिलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
फोन गरेरै कुर्न भनेकाले २ बजेसम्मको बाटो हेर्ने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए । मंगलबार साँझ प्रम प्रचण्डले बालुवाटारमा सत्ता साझेदारहरु दलहरुको सर्वदलीय बैठक राखेका थिए । बैठकमा सभामुखमा सबैलाई समेटेर लिएर जानुपर्नेमा जोड दिएका थिए ।
संघीय संसद सचिवालयका अनुसार बुधबार अपराह्न ४ बजेसम्म उम्मेदवारी दिने र अाजै उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन गर्नेछ । बिहीबार मत विभाजन माध्यमबाट सभामुख चयन गर्ने कार्यतालिका छ । कांग्रेससँग जसपा, एकीकृत समाजवादी दल साथमा छन् । उसले विपक्षी गठबन्धन बनाउने रणनीति बनाएकाे छ ।
यता, सत्ता गठबन्धनमा एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी साथमा छन् । प्रचण्डले ३ जना स्वतन्त्र सांसदहरूकाे पनि साथ पाएका छन् ।
प्रतिक्रिया