शुक्रबार, असार १३, २०८२

म्यानपावर व्यवसायीको आरोप खेपेका श्रममन्त्री अर्यालले दिए प्रष्टीकरण

नेपालखोज २०७९ माघ ४ गते १५:४०

काठमाण्डौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले आफू माथि लागेको आरोपको प्रष्टीकरण दिएका छन् । मंगलबार मन्त्रीको समथ लिएपछि म्यानपावर व्यवसायी अर्यालको पोल्टामा श्रममन्त्रीको चाबी हात परेको आशयका समाचार प्रकाशन भएपछि बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिएका हुन् ।

उनले भनेका छन्, ‘म कृषि फार्ममा छु, ट्राभल सर्भिसमा छु, सहकारीमा छु, इटा उद्योगमा छु, नेपाली सामानको उत्पादनमा छु, नेपालको पहिलो रेमिटेन्स कम्पनीमा छु, एजुकेश कन्सटेन्सीमा छु, सेक्युरिटी सर्भिसमा छु, ट्रेकिङ सर्भिसमा छु, होटल व्यवसायमा छु, क्याटरिङ व्यवसायमा छु, यस्ता थुप्रै क्षेत्रमा छु । गरि खाने मान्छे हुँ, थोरै थोरै धेरैमा छु । तर म्यानपावर कम्पनीमा म कहिले पनि छैन ।’

उनले साथीहरुले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौ भनेर “इन्टरनेशनल मार्केटिङ डाइरेक्टर“ को पद लेखिदिएको र पछि हटाउन भूलेको बताएका छन् । ‘त्यो वा कुनै मेन पावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न शेयर न स्यालरी । समाचार बनाउनेहरुले नै भन्दिनुस् न त मेरो कुन म्यानपावरमा कहिले कति शेयर थियो ? मैले कुनै गलत काम गरेर एक पैसापनि आर्जन गरेको छैन ।’उनले भनेका छन् ।

श्रममन्त्री अर्यालले आरोप प्रमाणित गर्न चुनौति दिएका छन् । भनेका छन्, ‘समाचार बनाउनेहरुले पनि आफ्नो पेशाको मर्यादा र गरिमा राखिदिउन् । मेरो कार्यकालमा ऐतिहासिक कामहरु हुने छ्न् । कृपया, अहिले जस्तै तपाईहरुका संचार माध्यमको स्पेस ती कामहरुका लागि पनि खाली राखिरहनु होला ।’

प्रतिक्रिया