शुक्रबार, असार १३, २०८२

कांग्रेसबाट सभामुखमा उम्मेदवारी दिएपछि देउवाले थाले छलफल

नेपालखोज २०७९ माघ ४ गते १६:२१

काठमाडाैं । नेपाली कांग्रेसबाट सभामुख पदका लागि ईश्वरी न्यौपानेले उमेदवारी दर्ता गरेपछि पार्टी सभापति शेरबहादुर देउवाले सरकारबाहिर रहेका दलसँग छलफल सुरु गरेका छन् । सभामुख चयनका लागि हुने निर्वाचन लगायत विषयमा छलफल गर्न कांग्रेसका सभापति देउवासहित विपक्षी दलका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा बसेको छ ।

बैठकमा देउवासहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगयत उपस्थित रहेको बताइएको छ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा लगायतका नेताहरू पनि बैठकमा सहभागी छन् ।

संसद्मा हुने सभामुख निर्वाचनका लागि नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई उठाएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सभामुखका लागि न्यौपानेलाई अघि सार्ने निर्णय गरेपछि उनले उम्मेदवारी दिएकी हुन् । यसपछि कांग्रेसले अन्य विपक्षी दलहरूलाई पनि न्यौपानेलाई मतदान गर्नका लागि सहमति जुटाउने प्रयासस्वरुप विपक्षी दलका शीर्ष नेताहरूलाई छलफलमा बोलाएको हो ।

कांग्रेसले सभामुखमा आफ्नो उम्मेदवार उठाउने र उपसभामुखमा सरकारमा सहभागी नभएका कुनै दलका उम्मेदवारलाई समर्थन गर्ने तयारी गरेको छ । सरकारमा सहभागी नभएका दलहरुलाई बैठकमा बोलाएको र उनीहरुको छलफलबाट उपसभामुखको उम्मेदवार तय गर्ने कांग्रेसका एक नेताले जानकारी दिए ।

प्रतिक्रिया