शुक्रबार, असार १३, २०८२

प्रतिनिधिसभा सभामुखमा देवराज घिमिरे निर्वाचित

नेपालखोज २०७९ माघ ५ गते १५:१४

काठमाडौं । प्रतिनिधिसभाले नयाँ सभामुख पाएको छ । आज संसदमा भएको निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेद्वार एमालेका नेता देवराज घिमिरे निर्वाचित बनेका हुन् । उनको पक्षमा १६७ जना सांसदले मतदान गरे । उनका प्रतिस्प्रर्धी विपक्षी दल कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले १०० मत पाएकी छिन् । एक सांसद तटस्थ बसेका छन् । २७५ सांसद रहेको संसदमा २६८ जना सांसद उपस्थित थिए ।

संसदमा चलेको लामो छलफलका क्रममा सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई सरकारमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टी बाहेक जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति र तीन स्वतन्त्र सांसदले मत दिने बताएका छन् । कांग्रेस उम्मेदवार न्यौपानेलाई एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले मात्र समर्थन गरेको थियो ।

घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने थिए भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा, समर्थकमा प्रकाश ज्वाला छन् । नवनिर्वाचित सभामुख घिमिरे झापा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।

प्रतिक्रिया