सभामुखमा निर्वाचित ओलीका विश्वास पात्र घिमिरेको विगत !

नेपालखोज २०७९ माघ ५ गते १६:०८

काठमाडौं । बिहीबार सम्पन्न मतदानमा सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित भए । प्रतिनिधिसभामा भएको निर्वाचनमा प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै उनी सभामुख चुनिए । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछाने थिए भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहेका थिए ।

प्रतिनिधिसभामा मत विभाजन प्रक्रियामार्फत् भएको चुनावमा घिमिरेको पक्षमा १६७ मत खस्यो । २७५ सदस्यीय प्रतिनिधिसभामा बिहीबार २६८ सांसद उपस्थित थिए । घिमिरेको विपक्षमा १०० मत पर्यो । पहिलो प्रस्तावमै घिमिरेको पक्षमा सभामुख निर्वाचित हुन आवश्यक न्यूनतम १ सय ३८ मत कटेकाले उनलाई ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले निर्वाचित भएको घोषणा गरेका थिए ।

सभामुखको पदका लागि एमालेका घिमिरे र कांग्रेस सांसद ईश्वरी न्यौपानेले उम्मेदवारी दिएका थिए । घिमिरेलाई सभाको बहुमत प्राप्त भएपछि न्यौपानेलाई सभामुख बनाइयोस् भन्ने प्रस्तावमा मतविभाजन गरिएन । नेमकिपाका प्रेम सुवालले घिमिरेको पक्ष र विपक्षमा मत नदिई तटस्थमा मतदान गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि घिमिरेको कार्यकाल सुरु हुनेछ ।

झन्डै पाँच दशकदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय घिमिरेले प्रतिनिधिसभाको पहिलो यात्रामै सभामुख बन्ने अवसर पाए । घिमिरे एमाले अध्यक्ष केपी शर्मा ओलीका निकटतम विश्वासपात्र मध्येका एक थिए । २०३३ सालमा विद्यार्थी पृष्ठभूमिबाट कम्युनिस्ट आन्दोलनमा जोडिएका उनी २०३३ मा विद्यार्थी संगठनको जिम्मेवारीकै क्रममा बुर्जुवा शिक्षा बहिष्कार अभियानमा लागेका थिए । छैटौं महाधिवेशनदेखि निरन्तररुपमा उनी ओलीका पक्षमा थिए । उमेर घिमिरे ६६ वर्षमा छन् । ओलीको हरेक दुःख, अफ्ठ्यारामा उनले बिना कुनै सर्त साथ सहयोग गरेको एमाले नेताहरु बताउँछन् ।

२०१३ जेठ १३ गते ताप्लेजुङ सिकैंचामा जन्मिएका घिमिरेले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी मालेबाट तेह्रथुम र पाँचथर जिल्लामा संगठन विस्तारको जिम्मेवारी समेत निर्वाह गरेका थिए । २०३९ देखि इलाम जिल्लाको पार्टी प्रमुखको जिम्मेवारी र इलाममा पार्टी संगठन निर्माण तथा विस्तारमा प्रमुख भूमिका निर्वाह गरेका थिए । उनले पार्टी संगठन निर्माणमा इलाम जिल्लामा मात्र लगातार १० वर्ष बिताएका थिए । तकसम्म अध्ययन गरेका उनले १२ वर्ष भूमिगत जीवन विताएका छन् । यस क्रममा उनी पटकपटक हिरासतमा समेत बसेका थिए ।

उनी २०४६ भदौमा सिरहामा सम्पन्न मालेको चौथो महाधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी भएका थिए । उनी २०४९ मा सम्पन्न नेकपा एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । घिमिरेले २०५० देखि साबिकको मेची अञ्चल इन्चार्जको जिम्मेवारी बहन गरेका थिए । तत्कालीन मेची अञ्चलका चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङमा उनी समेतले निर्माण गरेको संगठनकै बलमा २०४८ को संसदीय चुनावमा एमालेका सबै उम्मेदवारहरु निर्वाचित भएका थिए ।

उनी २०५६ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । संसदीय अनुभवमा उनको त्यो पहिलो यात्रा थियो । त्यसपछि पनि घिमिरे पुनः पार्टी कै काममा फर्किएका थिए । २०५८ मा पार्टीको केन्द्रीय विभागअन्तर्गत स्वास्थ्य विभाग इन्चार्जको जिम्मेवारीमा रहेर काम गरेका उनले इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संगठन लगायतका विभाग र संगठनको जिम्मेवारी निभाएका छन् । पार्टीमा उनको खासै विवादीत पुष्ठभूमी छैन् ।

एमालेको नवौं राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष ओलीको सचिवालयको संयोजन गर्ने जिम्मेवारी समेत घिमिरेलाई नै दिइएको थियो । उनले उक्त जिम्मेवारी समेत सफलतापूर्वक सम्पन्न गरेका थए । एमाले र माओवादी केन्द्रबीच वाम एकता भइ नेकपा गठन भएपछि घिमिरेलाई प्रदेश १ को अध्यक्षको जिम्मेवारी प्राप्त भएको थियो । एमालेको दसौं महाधिवेशनबाट उनी पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नं। १ को इन्चार्जको भूमिकामा रहेका थिए । मंसिर ४ को निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै घिमिरे पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

निम्नमध्मम परिवारमा जन्मिएका घिमिरेले गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट स्कुले शिक्षाको सुरुवात गरी ताप्लेजुङ सदरमुकामको भानु पब्लिक हाइस्कुलबाट ०२९ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । उनले धरानको महेन्द्र बहुमुखी क्याप्पसबाट आई।ए। र त्रिचन्द्र क्याम्पस काठमाडौंमा स्नातक अध्ययन पूरा गरेका छन् । ०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा रहेका घिमिरे ०३२ माघदेखि अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी ९कोके०गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा होमिएका थिए ।

०३३ सालमा आफ्नो अध्ययनलाई थाती राखेर गाउँ–गाउँमा पार्टीको संगठन निर्माणमा खटिएका थिए । घिमिरेले भूमिगत भएर कोकेमा काम गरेको तीन वर्षपछि ०३५ साल भदौमा नेपाल कम्युनिसट पार्टीको सदस्यता प्राप्त गरेका थिए । पार्टीको सदस्यता प्राप्तपछि आफ्नो ४५ वर्षे लामो औपचारिक राजनीतिक जीवनमा पार्टीका महत्वपूर्ण भूमिकामा रहेर जिम्मेवारी निर्वाह गर्दै आएका घिमिरे बिहीबार बाट प्रतिनिधिसभाको सभामुखको जिम्मेवारीमा पुगेका छन् ।

प्रतिक्रिया