शुक्रबार, असार १३, २०८२

उपसभामुखको उम्मेदवारबारे देउवा निवास धुम्बाराहीमा छलफल

नेपालखोज २०७९ माघ ६ गते ११:३६

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दिने तयारी गरेको नेपाली कांग्रेसले कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल गरिरहेको छ । यसबारे निर्णय गर्न सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठकमा छलफल भइरहेको छ ।

बैठकमा उपसभामुखको उमेदवार कसलाई बनाउने भन्ने टुंगो लगाउने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । कांग्रेसले उपसभामुख पदमा उमेदवारी दिने तयारी गरेको छ । प्रतिनिधिसभाको उपसभामुखका लागि आज उमेदवारी मनोनयन दर्ता गरिने कार्यतालिका छ ।

कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका अरू दलबाट उमेदवारी दिने भनिए पनि त्यो सम्भव हुने अवस्था नरहेको उनको भनाइ छ । उनले भने, ‘अरू दललाई दिने भनिएको थियो, जसले हिजो हामीलाई सहयोग गरे । तर, उनीहरूसँग महिला उमेदवार भएनन्, नेकपा (एस) र लोसपा सँग । अर्को कुनै दल गठबन्धनमा आए उमेदवार बनाउने हा । सभामुख पुरुष भएकाले अब महिला उमेदवार चाहिने भयो । अहिलेको परिस्थिति हेर्दा कांग्रेसलेनै उमेदवारी दिन्छ । हामी सल्लाह गर्दै छौँ । केही बेरमा बैठकले निर्णय गर्छ ।’

सभामुख पदको निर्वाचनमा कांग्रेस उमेदवारलाई नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले सघाएका थिए । ती पार्टीबाट उपसभामुखको उमेदवार बनाउने पूर्वतयारी थियो । सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भइसकेका छन् । उपसभामुखमा उमेदवारी दिन एकीकृत समाजवादी र लोसपामा महिला सांसद नभएकाले कांग्रेस नै अघि सर्न लागेको हो ।

प्रतिक्रिया