आइतबार, जेठ ६, २०८१

फिल्म ‘एक्स ९’बाट बाहिरिए अनमोल

नेपालखोज २०७९ माघ ६ गते १५:१६

काठमाडाैं । अभिनेता अनमोल केसीले लकडाउनमा सम्झौता गरेको फिल्मबाट हात निकालेका छन् । फिल्म ‘एक्स ९’बाट उनी बाहिरिएका हुन् । निर्धारित समयमा छायांकन सुरु नभएको र आफूले अरु फिल्मलाई समय दिनुपर्ने भएकाले अभिनेताले फिल्म छाडेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार फिल्मबाट बाहिरिएसँगै अभिनेता केसीले निर्मातालाई फिल्म साइन गर्दा बुझेको पेश्की रकम फिर्ता गरिसकेका छन् । लकडाउनमा अनमोलले फिल्मका लागि शरीर कसिलो बनाउन राम्रै मिहिनेत गरेका थिए । शाकाहारी उनले माछा–मासु समेत खाना थालेका थिए । उनले केही महिना एक्सनको तालिम समेत लिए । तर, निर्माताहरुबीच उत्पन्न असमझदारीका कारण फिल्म निर्माण हुन नसक्दा उनको मिहिनेत खेर गएको बताइएको छ

गत साउनमा निर्माता तथा निर्देशक मुकुन्द भट्टले नीति शाहलाई अभिनेत्रीमा भित्राउँदै फिल्म निर्माण नहुने भन्ने बजारको हल्लालाई चिरेका थिए । लोकेशन हेर्न उनी क्यानडा समेत पुगे । त्यस मौकामा उनले ‘हिम्मतवाली’ फिल्मका हिरो सुदर्शन थापालाई पनि कलाकारमा अनुबन्धित गरे । तर, एकपछि अर्को कलाकारसँग सम्झौता गर्नेबाहेक फिल्मको अरु केही काम हुन सकेको देखिन्न ।

फिल्ममा बलिउड सुपरस्टार सुनिल सेट्टीको पनि अभिनय रहने भन्दै निर्माण टिमले ठूलै डंका पिट्यो । तर, निर्माता र निर्देशकले सुनिलसँग मुम्बईमा फोटो खिचाउनेभन्दा अरु उपलब्धि हुन सकेको छैन । यस फिल्ममा पुष्प खड्का, सौगात मल्ल, अनुपविक्रम शाहीलगायतका कलाकार पनि अनुबन्ध भैसकेका छन् । तर, कामभन्दा हल्ला ठूलो हुँदा ‘एक्स ९’को निर्माण अन्योल बनेको छ ।

प्रतिक्रिया