आइतबार, जेठ ६, २०८१

दयाहाङ राई निर्देशित चर्चित नाटक ‘डिग्री माइला’मा फिल्म बन्ने

नेपालखोज २०७९ माघ ७ गते ७:३८

काठमाडाैं । ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङले नयाँ फिल्म ‘डिग्री माइला’को औपचारिक घोषणा गरेका छन् ।
चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएपछि दयाहाङ राई निर्देशित चर्चित नाटक ‘डिग्री माइला’मा आधारित रहेर सोही शीर्षकमा बन्ने फिल्मको गुरुङले शुक्रबार घोषणा गरेका हुन् ।

यो फिल्ममा नायिका को हुने फाइनल भएको छैन । गुरुङका अनुसार अब चाँडै नै नायिकाको फाइनल गर्ने तयारी छ भने मुख्य भूमिकामा दयाहाङसहित पुष्कर गुरुङ, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरे लगायतका रहने गुरुङले बताए ।

रामबाबुकै पटकथा लेखन रहेको फिल्मको पहिलो ड्राफ्ट यसअघि नै तयार भइसकेको थियो । यसअघि तीनपटक मञ्चन भइसकेको उक्त नाटकले राम्रो कमाइ गर्दै चर्चा पनि बटुलेको थियो । दर्शकको मागको आधारमा मण्डलाले तीनपटक उक्त नाटकलाई मञ्चन गरेको थियो ।

‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी फिल्म्सकै ब्यानरमा बन्ने फिल्मको छायांकन वैशाखदेखि सुरु गर्ने तयारी छ । कमेडी ड्रामा जनरामा बन्ने फिल्म छायांकनको लागि लोकेसन लगायतका पक्ष तय हुदै गरेको गुरुङले बताए । रामबाबु निर्देशित ‘फूलबारी’ फागुन ५ गते प्रदर्शन तयारीमा छ । वर्ष २०८० को अन्तिमतिर ‘कबड्डी ५’ निर्माणको योजना छ ।

प्रतिक्रिया