बुधबार, वैशाख १९, २०८१

सांसद राना उपसभामुख बन्दा उक्त पदको गरिमा बढ्छ : सोबिता गौतम

नेपालखोज २०७९ माघ ७ गते १४:३३

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले राजनीतिमा वसन्त ऋतु सुरुवात भएको बताएकी छन् ।

उपसभामुखको लागि पार्टीको तर्फबाट उम्मेदवार रहकी इन्दिरा रानामगरको प्रस्तावकको रुपमा प्रतिनिधिसभामा पहिलो सम्बोधन गर्दै उनले जाडो याम सकिएर वसन्त ऋतुमा पालुवा पलाए झैँ राजनीतिमा पनि वसन्त ऋतु सुरुवात भइसकेको बताएकी हुन् । प्रतिनिधिसभामा आज पहिलो सम्बोधन गर्दै सांसद गौतमले उक्त कुरा बताएकी हुन् ।

उनले नेता भनेको ठूलो कद भएको मानिस हुनुपर्छ भन्ने भाष्य समाजबाट नहराउँदै २७ वर्षकी युवामाथि मतदाताले भरोसा गरेर आफ्ना सपनाहरु सुम्पिएको बताइन् ।

उनले सांसद राना उपसभामुख बन्दा उक्त पदको गरिमा बढ्ने पनि उल्लेख गरिन् । सांसद रानामगरले कारागारमा हुने बाबुआमाको बालबालिकाको पालन पोषण र शिक्षादीक्षामा काम गरेको भन्दै गौतमले भनिन्, ‘उहाँले समस्या औंल्याएर मात्र बस्नुभएन । समाधान खोज्न उहाँ सडकमा आउनुभयो ।’ सांसद रानामगरले उपसभामुख पदको जिम्मेवार कुशलतापूर्वक निर्वाह गर्न सक्ने पनि उनले बताइन् ।

प्रतिक्रिया