मंगलबार, जेठ ८, २०८१

थप रासायनिक मल उपलब्ध हुने भएपछि किसानलाई राहत

नेपालखोज २०७९ माघ १० गते ११:५१

सरकारले थप रासायनिक मल उपलब्ध गराउने भएपछि धनुषाका किसानलाई राहत हुने भएको छ । मधेश-प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही माघ ४ को पत्रअनुसार कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखा धनुषालाई थप एक हजार ७९ मेट्रिक टन युरिया मल उपलब्ध गराउने भएपछि हिउँदे बाली लगाएका किसानलाई राहत हुने भएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेड धनुषाका निमित्त प्रमुख रविकुमार केसरीले थप युरिया मल प्राप्त हुने र मल ल्याउन यसै महिनामै बोलपत्र आह्वानको तयारी भइरहेको जानकारी दिए ।

सम्भवतः यही माघ १८ मा बोलपत्र आह्वान हुने र हिउँदे बाली उत्पादक किसान लाभान्वित हुने गरी चाँडै मल ल्याउन पहल भइरहेको उनको भनाइ छ । ‘किसानले मलको माग गरिरहेकाले हामी दबाबमा थियौँ केशरीले भने, अब बाँकी प्रक्रिया पूरा गरेर छिट्टै मल उपलब्ध गराउँछौँ ।

कृषि सामग्री कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा धनुषाको दक्षिणी क्षेत्रका लागि जनकपुरधाम शाखामा नौ हजार मेट्रिकटन युरिया र ६ हजार मेट्रिकटन डिएपी मलको लक्ष्य तोकेको छ । हिउँदे सिजनका लागि हालसम्म एक हजार चार सय ४ मेट्रिक टन युरिया र एक हजार आठ सय ७२ मेट्रिक टन डिएपी मल प्राप्त भएकोमा एक हजार दुई सय ५३ मेट्रिक टन युरिया र एक हजार आठ सय मेट्रिक टन डिएपी वितरण गरिसकिएको केसरीले जानकारी दिए ।

‘पर्याप्त र समयमै मल प्राप्त नहुँदा उसै पनि समस्या छ, त्यसैमा स्थानीय तहबाट समयमा सिफारिस नआउँदा मल विवतरणमा ढिलाइ भएको छ’, केशरीले भने, ‘हामीसँग अब करिब एक सय ५१ मेट्रिकटन युरिया र ७२ मेट्रिकटन डिएपी मल मौज्दात छ ।’

त्यसैगरी उत्तरी क्षेत्रका लागि शाखा कार्यालय ढल्केबर धनुषामार्फत् वार्षिक पाँच हजार मेट्रिकटन युरिया र दुई हजार तीन सय सय मेट्रिकटन डिएपी मल बिक्री वितरण गर्ने लक्ष्य रहेको पनि जनाइएको छ । कृषि सामग्री केन्द्रले धनुषाको दक्षिणी क्षेत्रमा जनकपुरधाम कार्यालयमार्फत् करिब ६५ प्रतिशत र जिल्लाको उत्तरी क्षेत्रमा ढल्केबर शाखामार्फत् करिब ३५ प्रतिशत मल वितरण गर्दै आएको छ ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रले स्थानीय तहमा खेती भइरहेको जमिनका आधारमा निर्धारण गरेको कोटाअनुसार मल वितरण हुने गरेको छ । धनुषाका एक हजार आठ स्थानीय तहमध्ये खेती भइरहेको जमिनका आधारमा लक्ष्मीनियाँ गाउँपालिकाले सबैभन्दा बढी र जनकनन्दनी गाउँपालिकाले सबैभन्दा कम कोटा मल पाइरहेका कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले जानकारी दिए ।

कूल ७५ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये धनुषामा ५३ हजार आठ सय २५ हेक्टरमा धान र ३६ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती भइरहेको कृषि ज्ञान केन्द्र धनुषाको तथ्याङ्क छ । पर्याप्त र समयमै मल आपूर्ति नहुँदा देशभरीमा जस्तै यहाँका किसानले पनि समस्या झेल्दै आएका छन् ।

प्रतिक्रिया