हिमपातले हिमाली जनजीवन कष्टकर

नेपालखोज २०७९ माघ १० गते १५:१२

कर्णाली । कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको छ । कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पामा भारी हिमपात भएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशका बझाङ, बैतडी, र बाजुरामा पनि हिमपात भएको छ । हिमपातका कारण त्यहाँका स्थानीयको जनजीवन कष्टकर बन्दै गएको छ । सरकारी तथा गैरसरकारी कार्यालयका कामकाज पनि प्रभावित भएका छन् । हिमपात भइरहे पनि सबै सरकारी कार्यालय खुला रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए ।

‘नागरिकता बनाउन छिटपुटरुपमा सेवाग्रही आएकै छन् । चिसोबाट बच्न हामीले जुम्ला बजारका चोकचोक आगो बालेर ताप्ने व्यवस्था मिलाएका छौँ”, उनले भने, ‘चिसोबाट बच्ने उपायहरुबारे पनि स्थानीयलाई सूचना गरिएको छ ।’ हिउँ परिरहेकाले लामो तथा छोटो दूरीका सवारी यातायात सञ्चालनमा आउन नसकेको प्रजिअ केसरीले जनाए ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले यस क्षेत्रमा कठ्याङ्ग्रिने चिसो बढेको बताए । ‘चिसो निकै बढेकाले हामी प्रशासनमा आगो बालेर बसेका छौँ तर सेवाग्रही एकजना पनि आएका छैनन् ।’ यसका कारण यातायातको एकमात्र विकल्प हवाई सेवा पनि ठप्प भएको निमित्त प्रजिअ सुवेदी जनाए ।

चिसोले ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र ‘ट्युसन’ अध्ययन गर्ने बालबालिका प्रभावित भएका छन् । हिउँ पर्दा भने किसानहरु हर्षित भएका छन् । सुक्खा खडेरीले हिउँदे बाली सुक्दै जाँदा चिन्तित बनेका किसानहरु भने पहिलो पटक हिउँ परेपछि खुशी भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारी बताए ।

हिउँदे बालीको उत्पादन वृद्धिका लागि कर्णालीमा पुस, माघमा हिमपात हुनुपर्ने यहाँका किसानहरु बताउँछन् । चन्दननाथ नगरपालिका-३ जुम्लाका मन्नु बुड्थापाले चिसोका कारण स्थानीयलाई हिँड्डुल गर्न र पशु चौपायालाई दाना पानी दिन समस्या भए पनि अन्नबालीका लागि राम्रो भएको बताए । हिमपातले गहुँ, जहुँ बाली सप्रिने र स्याउका बिरुवालाई फाइदा हुने बुड्थापाले बताए ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालय विपद् शाखाका प्रमुख कृष्णबहादुर रोकायले उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भोलिसम्म हिमपातको सम्भावना रहेको सूचनाबमोजिम यहाँका नागरिकलाई आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरिएको बताए ।-रासस

प्रतिक्रिया