मनपरी भाडा लिनेलाई कारबाही माग

काठमाडाैं । कालीगण्डकी कोरिडोरअन्तर्गत गैँडाकोट हुँदै पाल्पा–रामपुरको ८० प्रतिशत कालोपत्रे भइसक्दा पनि सवारी भाडादरमा मनपरी देखिएको छ ।
सवारीचालकबाट यात्रु दिनप्रतिदिन ठगिनु नियतिजस्तै भएको छ । यो सडक कच्ची हुँदा कायम भएको भाडादर सडक कालोपत्रे हुँदा पनि नघट्दा यात्रुसँग चालकले मनपरी भाडा लिने गरेका हुन् । बुलिङटारका स्थानीय बेलबहादुर दराईले अझै पनि आफूहरू चर्को भाडा तिर्न बाध्य भएको बताए ।
पूर्वी नवलपरासीको बुलिङटार, डेढगाउँ, पाल्पाको रामपुर जाने सवारीसाधनले अहिले पनि मनपरी भाडा असुल्न थालेपछि यात्रु मर्कामा परेका गुनासो उनले गरे। गैँडाकोटको कालीगण्डकी चोकबाट जाने जिप र दलदले भएर बुलिङटार, डेढगाउँ र पाल्पाको रामपुर जाने जिप तथा बसले आफूखुसी भाडा असुलेको बुलिङटारका प्रेमबहादुर थापामगरले बताए ।
गैँडाकोटबाट बुलिङटारसम्मको ४३ किलोमिटरको कालोपत्रे सडकको भाडा सवारीचालकले पाँच सयदेखि सात सयसम्म लिने गरेका स्थानीयले बताएका छन् । मनपरी भाडा लिने, दैनिक घण्टौँसम्म बस र जिप कुरेर बस्नुपर्ने, बस तथा जिप कतिखेर जान्छ भन्ने नै यकिन नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । गैँडाकोट भएर बुलिङटार जाने बसले सात सयसम्म भाडा लिने गरेको र यो भाडा कच्ची सडक हुँदाको कायम गरिएको भाडा भएको बताइएको छ । अहिले कालोपत्रे हुँदा पनि यही भाडा तिर्न यात्रु बाध्य छन् ।
तराईमा प्रतिकिलोमिटर तीन रुपियाँ र पहाडमा प्रतिकिलोमिटर पाँच रुपियाँ भाडादर कायम भए पनि प्रतिकिलोमिटर १६ रुपियाँ तिर्नुपर्ने बाध्य छन् यात्रु ।
यो रुटमा अहिले पनि ६० प्रतिशतसम्म भाडा चर्को असुली हुने गरेको डेढगाउँका हरि ओझाले बताए । पाल्पा–रामपुरसम्मको भाडा एक हजारभन्दा माथि रहेको छ । यो मनपरी ढङ्गले तोकिएकाले वैज्ञानिक नभएको भनाइ स्थानीयको छ ।
दैनिक एक दर्जनभन्दा बढी सवारी साधन गैँडाकोट कालीगण्डकी चोकबाट ढोडेनी हुँदै बुलिङटार थामबेँसी कोटा र दलदले भएर बुलिङटार, डेढगाउँ पाल्पाको रामपुरलगायत क्षेत्रमा ओहोरदोहोर गर्ने गर्छन् । बुलिङटार गैँडाकोट सम्पर्क समाजले लेकबेँसी यातायातलाई चर्को भाडाका विषयमा ध्यानाकर्षण गराउने र सुनुवाइ नभए प्रमुख जिल्ला अधिकारीको समेत ध्यानाकर्षण गराई भाडादर समस्या समाधान गरिने समाजका अध्यक्ष खड्गबहादुर कुमालले बताए ।
यहाँ लेकबेँसी यातायात प्रालिले बस र जिप सञ्चालनमा ल्याएको छ । बस र जिप सञ्चालकले आफ्नो अनुकूलतामा भाडा लिने त्यो पनि असाध्यै चर्को लिने गर्दा यात्रु मर्कामा परेको डाडाँझेरीका मनबहादुर रानाभाटले बताए ।
त्यसमाथि दलदले र गैँडाकोटको कालीगण्डकी चोकमा घण्टौँ गाडी कुरेर बस्नुपर्ने बाध्यता छ । दिनहुँ यो समस्या भोग्नुपरेको बताउँदै उनले दैनिक दुई दर्जनभन्दा बढी बस र जिप चल्ने यो सडकमा अति आवश्यक परेका बेला सवारीसाधन पाउनै मुस्किल हुने गरेको बताए।
सवारीसाधन सञ्चालनका लागि निश्चित समय नतोकिएकाले अचानक बिरामी परे तत्कालै स्वास्थ्योपचारका लागि अस्पताल जान पनि सवारीसाधन नपाउने अवस्था रहेको स्थानीय बताउँछन् । अर्को यातायात व्यवसायीको सिन्डिकेटका कारण भाडादर चर्को र चालकको इच्छाअनुसार सवारीसाधन चल्ने भएकाले समस्या थपिएको हो । गाडी सञ्चालक जनक आचार्यले यात्रु भरिएपछि मात्रै गाडी चल्ने भएकाले चार/पाँच घण्टासम्म गाडी कुर्नपर्ने बताए ।
पहाडी क्षेत्रमा चल्ने बस र जिपको निश्चित समय तोकिदिए त्यो समयमा अनिवार्य त्यहाँबाट छुट्ने व्यवस्था मिलाएर गाउँवासीको समस्या समाधानमा स्थानीय प्रशासनले ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले चर्को भाडा लिने जोकसैलाई कारबाही गरिने बताउनुहुन्छ । तर यस विषयमा उजुरी गर्न आग्रह गरे।
लेकबेँसी यातायात प्रालिका अध्यक्ष युवराज बस्यालले गाडीभाडामा मनपरी असुल्नेमाथि कारबाही गरिने र छानबिन थालिएको दाबी गर्नुहुन्छ । त्यसरी चर्को भाडा लिएर यात्रुलाई दुःख दिनेमाथि समितिले कारबाही गर्ने भनाइ उनको छ । यो समाचार आजको गोरखापत्र दैनिकका प्रकाशित छ

प्रतिक्रिया