मंगलबार, वैशाख ४, २०८१

राष्ट्र बैंकद्धारा विप्रेषण विनियमावली, २०७९ जारी

नेपालखोज २०७९ माघ १३ गते १४:२८

काठमाडौं । नेपाल राष्ट्र बैंकद्धारा विप्रेषण विनियमावली, २०७९ जारी गरेको छ । राष्ट्र बैंकले शुक्रबार नेपाल राष्ट्र बैंक बैंकिङ बिभाग लगायत सम्पुर्ण प्रादेशिक कार्यालयहरु, बिप्रेषण कारोबार गर्न अनुमतीप्राप्त कम्पनी, बिदेशी बिनिमय कारोबार गर्न अनुमतीपत्र प्राप्त सम्पुर्ण निकायहरु तथा अन्य निकायहरुको नाउँमा परिपत्र जारी गर्दे उक्त बिनियमावली कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

बिनियमावली मार्फत राष्ट्र बैंकले भनेको छ, नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ को व्यवस्थाबमोजिम विप्रेषण कारोबारका लागि इजाजतपत्र प्रदान गर्ने सम्बन्धी व्यवस्था, विप्रेषण कारोबार गर्न इजाजतपत्र लिएका संस्थाहरूको काम तथा कर्तव्य सम्बन्धी व्यवस्था, इजाजतपत्रको नवीकरण, निलम्बन तथा खारेजी सम्बन्धी व्यवस्था, कसूर, दण्ड सजाय र कारबाही सम्बन्धी व्यवस्था र इजाजतप्रत्रप्राप्त विप्रेषण कम्पनीहरू एक आपसमा गाभ्ने-गाभिने वा प्राप्ति गर्ने सम्बन्धी व्यवस्था लगायत विप्रेषण कारोबार सम्बन्धी कार्यलाई व्यवस्थित गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उप-दफा (२) र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले देहायका विनियमहरू बनाएको हो ।

नियमावली अनुसार विप्रेषणको कारोबार गर्न निवेदन दिने निवेदक, शेयरधनी तथा पदाधिकारीको १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनु पर्ने छ भने मानसिक सन्तुलन ठीक भएको हुनुपर्ने छ । यसबाहेक ऋण तिर्न नसकी साहूको दामासाहीमा नपरेको, बैंक वा वित्तीय संस्थासँगको कुनै कारोबारमा कालोसूचीमा परेको भए त्यस्तो सूचीबाट फुकुवा भएको मितिले कम्तीमा तीन वर्ष पूरा भएको, प्रचलित कानून बमोजिम कर तिर्नु पर्ने दायित्व भएमा त्यस्तो कर चुक्ता गरेको, नैतिक पतन देखिने फौजदारी कसूरमा अदालतबाट सजाय पाएको भए त्यस्तो सजाय भुक्तान भएको मितिले पाँच वर्ष पुगेको, भ्रष्टाचार वा ठगीको कसूरमा अदालतबाट सजाय पाएको भए त्यस्तो सजाय भुक्तान भएको मितिले पाँच वर्ष पुगेको, कुनै सरकारी, सार्वजनिक वा बैंक तथा वित्तीय संस्थाको सेवाको पदमा बहाल नरहेको, बैंक तथा वित्तीय संस्थासँगको काम कारबाहीमा बेइमानी वा बदनियत गरेको कुरा प्रमाणित नभएको, सम्पत्ति शुद्धीकरण सम्वन्धी मुद्धामा नपरेको व्यक्ति हुनुपर्ने छ ।

बिनियमावली अनुसार इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीले प्रचलित कानून तथा सो अन्तर्गत राष्ट्र बैंकले समयसमयमा जारी गरेको परिपत्र, आदेश, निर्देशन, सूचना लगायत देहायका शर्तहरूको अधीनमा रही विदेशी मुद्रामा विप्रेषण नेपाल भित्र्याउने (इनवार्ड रेमिट्यान्स) कार्य गरी आफै वा आपूmद्वारा नियुक्त सब–एजेण्ट वा सब– रिप्रिजेन्टेटिभमार्फत सम्बन्धित व्यक्तिलाई भुक्तानी गर्नु पर्नेछ । विप्रेषणको कार्य गर्न इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीले विदेशबाट अग्रिम भुक्तानीको रुपमा बैकिङ्ग प्रणाली मार्फत विप्रेषणको रकम विदेशी मुद्रामा नेपाल ल्याउनु पर्नेछ ।

विप्रेषणको रकम अग्रिम भुक्तानीको रुपमा प्राप्त नभई नेपालमा सम्बन्धित व्यक्तिलाई भुक्तानी दिएपछि शोधभर्नाको रुपमा रकम प्राप्त हुने अवस्थामा त्यस्तो रकमको जमानतका लागि भुक्तानी दिएको सम्पूर्ण रकमलाई खाम्ने गरी सम्बन्धित विदेशी फर्म, कम्पनी, संस्थाको तर्फबाट विदेशी बैंकबाट जारी भएको विदेशी मुद्राको कुनै पनि शर्त उल्लेख नभएको जमानत वा सम्बन्धित विदेशी फर्म, कम्पनी, वा संस्थाबाट विदेशी मुद्राको नगद धरौटी प्राप्त गरेको हुनुपर्नेछ । यसरी प्राप्त भएको जमानत र नगद धरौटीको रकमले खामेभन्दा बढी हुने गरी सम्बन्धित व्यक्तिलाई भुक्तानी गर्न पाइने छैन । विप्रेषण कम्पनीले विदेशी फर्म, कम्पनी वा संस्थाबाट केही रकम अग्रिम भुक्तानीको रुपमा र केही रकम बैंक जमानतको रुपमा समेत प्राप्त गर्न सक्ने बिनियमावलीमा उल्लेख छ ।

बिनियमावली अनुसार विप्रेषण कम्पनीले नेपालमा रहेका सम्बन्धित व्यक्तिलाई उपलब्ध गराएको रकमको शोधभर्ना सम्बन्धित विदेशी फर्म, कम्पनी, संस्थाबाट विदेशी मुद्रामा नै प्राप्त गर्नुपर्नेछ । नेपालमा सम्बन्धित व्यक्तिलाई भुक्तानी दिएको रकम विदेशस्थित फर्म, कम्पनी, वा संस्थाबाट शोधभर्ना लिनु पर्ने कर्तव्य सम्बन्धित विप्रेषण कम्पनीको हुनेछ । यसैगरी विप्रेषण कारोबारबाट सृजना हुने कुनै पनि किसिमको आर्थिक वा विदेशी विनिमय दायित्व राष्ट्र बैंकले बहन गर्ने छैन । बिनियमावली अनुसार विप्रेषण कम्पनीले आफूले पाउने कमिशन विदेशी मुद्रामा नै प्राप्त गर्नु पर्नेछ । विप्रेषण सम्बन्धी कारोबारको सिलसिलामा कुनै किसिमको अनियमितता गर्नु हुँदैन ।

विप्रेषण कम्पनीले विदेशी मुद्रा प्राप्त गर्ने (इनवार्ड रेमिट्यान्स) कार्य गर्न पाउने छ । विप्रेषण बापत प्राप्त भएको विदेशी मुद्रा राष्ट्र बैंकले तोकिदिएको अवधिसम्म विदेशी मुद्रामा नैबैंक तथा वित्तीय संस्थामा खाता खोली राख्न पाइने छ भने विप्रेषण कम्पनीले कार्यनीति तथा शर्तहरू सहितको आन्तरिक नियम बनाई सब–एजेण्ट तथा सब– रिप्रिजेण्टेटीभ नियुक्त गर्न सक्नेछ र यसरी नियुक्त गरेका सब–एजेण्ट तथा सब–रिप्रिजेण्टेटीभले गरेको विप्रेषण कारोबारको जिम्मेवारी सम्बन्धित विप्रेषण कम्पनीको हुनेछ । बिनियमावली अनुसार विप्रेषण कम्पनीले सब–एजेण्ट तथा सब–रिप्रिजेण्टेटिभ नियुक्त गर्दा आफ्नो बाहेक अन्य विप्रेषण कम्पनीको सब–एजेण्ट तथा सब–रिप्रिजेण्टेटिभ भई कार्य गर्न नपाउने शर्त राख्न पाउने छैन ।

यसैगरी विप्रेषण कम्पनीले विदेशबाट प्राप्त विदेशी मुद्रा वैधानिक श्रोतबाट प्राप्त भएको तथा गैरकानूनी रुपमा आर्जन गरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) प्रयोजनका लागि विप्रेषण भएको होइन भन्ने कुरामा यकिन गर्नु पर्नेछ र सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी प्रचलित राष्ट्रिय-अन्तर्राष्ट्रिय कानूनी व्यवस्थाहरूको पालना गर्नु पर्नेछ । विप्रेषण कारोबारको इजाजतपत्र सर्वसाधारणले देख्ने गरी कारोबार गर्ने स्थानमा राख्नु पर्नेछ । विप्रेषण कम्पनीले सेवाग्राहीसँग तोकिएको सेवा शुल्क भन्दा अन्य कुनै किसिमको शुल्क लिन पाइने छैन । साथै, सेवाग्राहीलाई सेवा शुल्क बाहेक अन्य कुनै व्ययभार नपर्ने (सम्झौता गरिएको विदेशी फर्म, कम्पनी वा संस्थाले समेत) व्यवस्था मिलाउनु पर्नेछ ।

साथै, विप्रेषण कारोबारसँग सम्बन्धित कुनै पनि शुल्क तथा व्ययभारसँग लिन नपाइने व्यवस्था मिलाउनु पर्नेछ । बिनियमावली अनुसार राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक/भुक्तानी सेवा प्रदायक संस्थासँग सम्झौता गरी विदेशी मुद्रा पठाउने व्यक्ति वा संस्थाको अनुरोधमा भुक्तानी प्रणाली सञ्चालक/भुक्तानी सेवा प्रदायक संस्थामार्फत निजको तर्फबाट भुक्तानी गरिदिन सक्नेछ । तर, नगद प्रयोग गरी यस्तो भुक्तानी गर्न नपाईने बिनियमावलीमा उल्लेख छ ।

बिनियमावली अनुसार विदेशी मुद्रा नेपालबाट विदेशमा पठाउन पाइने छैन । तर, राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले प्रचलित व्यवस्थाको अधीनमा रही अन्तर्राष्ट्रिय भुक्तानी लगायत अन्य आवश्यक कार्य गर्न यस व्यवस्थाले बाधा पु¥याएको मानिने छैन । व्यापार गर्ने उद्देश्यले मालसामान खरिद बिक्री गर्न, अन्य फर्म, संस्था वा कम्पनीमा लगानी गर्न वा कार्यालय प्रयोजनको निमित्त आवश्यक पर्ने बाहेक भवन निर्माण गर्न, अचल सम्पत्ति खरिद गर्न पाइने छैन ।

तर, राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थालाई प्रचलित कानून बमोजिम लगानी गर्न बाधा पर्ने छैन । कर्मचारी सेवा विनियमावली बमोजिम आफ्ना कर्मचारी बाहेक अन्य कसैलाई कुनै पनि किसिमको कर्जा तथा सापटी प्रदान गर्न पाइने छैन । तर, राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले प्रचलित कानून बमोजिम कर्जा तथा सापटी प्रदान गर्न सक्नेछ ।

राष्ट्र बैंकबाट प्रदान भएको इजाजतपत्रमा तोकिएका कार्यहरू बाहेक विदेशी विनिमय सम्बन्धी प्रचलित कानूनले निषेध गरेका अन्य कुनैपनि कारोबार गर्न पाइने छैन । पूँजीगत प्रकृतिका कारोबारको रकम भित्र्याउन पाइने छैन । तर, योव्यवस्था इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थालाई लागू हुने छैन, विदेशस्थित फर्म, कम्पनी, वा संस्थासँग भएको सम्झौतामा उल्लिखित सीमाभन्दा बढी वित्तीय वा गैर–वित्तीय सेवा सुविधा प्रदान गर्न पाइने छैन ।

राष्ट्र बैंकको स्वीकृति नलिई र तोकिएको समयावधिमा नवीकरण नगरी विप्रेषणको कारोबार गर्न नपाईने बिनियमावलीमा उल्लेख छ ।

प्रतिक्रिया