बुधबार, वैशाख १२, २०८१

राजीव गान्धी र सीएमसीबीच प्रविधि आदानप्रदान सम्झौता

नेपालखोज २०७९ माघ १४ गते ८:३५

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर तथा चितवनको सीएमसी क्यान्सर इन्स्टिच्युटबीच सीप, अनुसन्धान र प्रविधि आदनप्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका निर्देशक प्राडा सुधिरकुमार रावल र चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिश्चन्द्र न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार राजीव गान्धीका विज्ञ चिकित्सकले सीएमसीका चिकित्सकलाई तालिम दिनुहुने चितवन मेडिकल कलेजका शैक्षिक विभाग निर्देशक प्राडा गोपेन्द्रप्रसाद देवले बताए । राजीव गान्धीका चिकित्सकसहित सिएमसीमा क्यान्सर परीक्षण तथा उपचार शिविरसमेत सञ्चालन गरिने छ । नेपालका विभिन्न ठाउँमा सिएमसीले आयोजना गर्ने शिविरमा राजीव गान्धीका चिकित्सक सहभागी हुनेछन् ।

उनले भने, ‘अस्पतालमा र बाहिर हामीले जहाँ क्यान्सर परीक्षण शिविर राख्छौँ त्यहाँ राजीव गान्धीका चिकित्सक आउनुहुन्छ ।’ क्यान्सर अनुसन्धानमा पनि सहयोग आदान प्रदान हुनेछ । यहाँका चिकित्सक राजीव गान्धीमा गएर तालिम लिने सम्झौतामा उल्लेख छ । प्राडा देवले भने, ‘यहाँभन्दा त्यहाँ बिरामी धेरै हुन्छन् । त्यहाँ तालिम लिँदा प्रभावकारी हुन्छ ।’ आवश्यकताअनुसार तीन महिनादेखि एक वर्षको तालिम हुनेछ । क्यान्सर बिरामीको तथ्याङ्क राख्ने काममा पनि सहयोग प्राप्त हुनेछ ।

डा. देवले भने, ‘हाम्रो सूचना प्रविधिको जनशक्तिले त्यहाँ गएर तालिम लिनेछ ।’ सिएमसी क्यान्सर इन्स्टिच्युटको ट्युमर बोर्डको बैठकमा समेत राजीव गान्धीका चिकित्सक अनलाइनमार्फत सहभागी हुनेछन् । सिएमसीमा कुनै पनि क्यान्सरको बिरामी आएपछि उसलाई कस्तो किसिमको उपचार कसरी सुरु गर्ने भन्ने विशेषज्ञको समूहमा छलफल हुने गर्छ । यस्ता छलफलमा राजीव गान्धीका चिकित्सक अनलाइनमार्फत अडियो भिजुअलमा सहभागी हुनेछन् ।

प्राडा देवले भने, ‘उहाँहरुले छलफलमा विज्ञको राय दिनुहुन्छ ।’ चितवन मेडिकल कलेजले एक सय शय्याको ‘सिएमसी क्यान्सर इन्स्टिच्युट’ सञ्चालनमा ल्याएको छ । इन्स्टिच्युटको बिहिबार उद्घाटन गरिएको छ । इन्स्टिच्युटमा मस्तिष्कमा रहेको ट्युमर, घाँटी तथा टाउकोसम्बन्धी, फोक्सो, स्तन, पेट, कलेजो, पाठेघरको मुख र गर्भाशय, मूत्रासय र अन्य क्यान्सरको उपचार सुरु गरिएको छ ।

जिल्लामा एशियाकै नमूना क्यान्सर अस्पतालको रुपमा स्थापना गरिएको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसमेत छ । बिरामीकोे चापका कारण यहाँ पालो नपाएका बिरामी अहिले पनि भारतसहित अन्य देश जान बाध्य छन् । सरकारी दर रेटमा नै सिएमसीले क्यान्सरको उपचार थालेको छ । सरकारले दिने सहुलियतसमेत यस अस्पतालमा पाइन्छ ।

प्रतिक्रिया