शनिबार, वैशाख ८, २०८१

राष्ट्रपतिको निर्वाचनमा गडबड भए देशमा अनिष्ट हुन्छः डा. शेखर

नेपालखोज २०७९ माघ १४ गते १५:४३

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचनमा तलमाथि भए देशले ठूलो अनिष्ट व्यहाेर्नुपर्ने बताएका छन् । विराटनगरमा शनिबार नेपाल प्रेस युनियन प्रदेश–१ को पहिलो अधिवेशन उद्घाटन गर्दै कोइरालाले राष्ट्रपतिमा एमालेले दाबी गरिरहनुका पछाडि धेरै कारण रहेकोप्रति संकेत गर्दै राष्ट्रपतिको निर्वाचन सार्न नमिल्ने र फागुन २८ अगाडि नै हुनुपर्ने बताए ।

गएको पाँच वर्षमा राष्ट्रपतिले संविधान भन्दामाथि रहेको अनुभूति गराएको भन्दै कोइरालाले राष्ट्रपति कांग्रेसको हुनुपर्नेमा जोड दिए । उनले भने,‘ हामीले पाँचवर्ष हेरिसक्यौँ अब कांग्रेसको राष्ट्रपति हुनुपर्छ । विगतमा संविधानभन्दा विपरित राष्ट्रपतिले काम गर्न बजेट संसदमा पेस भएन । नागरिकता विधेयक रोकियो । संविधानभन्दा राष्ट्रपति माथि हुँदैन । तर, जसलाई जे मन लाग्यो त्यो गरेको देखिन्छ । यो सब रोक्न पनि कांग्रेसले राष्ट्रपति पाउनुपर्छ ।’

नेता डा. कोइरालाले कार्यकर्तालाई निरास नहुन भन्दै ठूलो पार्टी भएकाले कुनै पनि दिन कांग्रेस सत्तामा आउन सक्ने बताए । नेकपा एमालेका कारण माओवादी केन्द्रले सत्ता नेतृत्व गर्ने अवसर पाएको भन्दै कोइरालाले पछिल्लो घटनाले भने कांग्रेस वृतमा निरासा छाएपनि यो लामो नरहने बताए । वर्तमान सत्ता गठबन्धन लामो समय नजाने कोइरालाको संकेत थियो । उनले देशको राजनीतिक अवस्थासँग कांग्रेसको राजनीति पनि कठिन अवस्थामा रहेको बताए । कांग्रेस ठूलो पार्टी बनेर पनि सरकार बनाउने अवसर गुम्यो । यसले सबैको चित्त दुखेको छ तर, धैर्य गर्नुपर्छ समय आउँछ, उनले भने ।

सरकारलाई समर्थन गर्ने विषयमा आफूले तटस्थ बस्न आग्रह गरेको बताउँदै कोइरालाले गृहमन्त्रीले राजीनामा दिनु पर्ने अवस्थाले भोलिको राजनीति कसरी बढ्छ यसै भन्न नसकिने अवस्था रहेको र हिजोको घटनाले देशमा कानुनी राज्य छ भन्ने पुष्टि भएको बताए । न्यायपालिका सबल भएको देखिन्छ यसले न्यायालयप्रति जनविश्वास बढाउने काम गरेको कोइरालाको दावी छ ।

देशको आर्थिक अवस्था जर्जर भएको भन्दै उनले राजश्वबाट तलब दिन सक्ने अवस्था नभएको बताए । मन्त्रालय घटाउने प्रदेश सरकारको निर्णय स्वागतयोग्य भएको बताए । विराटनगरमा उधोग बन्द हुने क्रम बढेको भन्दै उनले चिन्ता व्यक्त गरे । सबैतिरको वातावरण सकारात्मक नभएको भन्दै राजनीतिक रुपमा यसको समाधान खोजिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया