बिहीबार, चैत १५, २०८०

गङ्गालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछ : प्रधानमन्त्री प्रचण्ड

नेपालखोज २०७९ माघ १५ गते १२:३८

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको २७औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्रीले भने, ‘तपाईंहरूले यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहना र माग राख्नुभएको छ । यसको प्रक्रियाबारे सरकारले पनि गम्भीरतापूर्वक लिनेछ । तपाईंहरू पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत् यसको प्रक्रिया बुझ्नुहोस् । सरकार यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्न प्रतिबद्ध छ ।’

प्रधानमन्त्रीले गङ्गालाल हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको बताए । उनले भने, ‘गङ्गालाल हृदय केन्द्र देशभरिका नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित भएको छ । जनताले यसलाई मुटुरोगको उपचार र आफ्नो भरोसाको केन्द्रका रूपमा बुझेका छन् । यसका लागि तपाईंहरू धन्यवादको पात्र हुनुहुन्छ । यसले आम रूपमा जनताको स्वास्थ्यप्रतिको संवेदनशीलतालाई प्रमाणित गर्दछ ।’

प्रधानमन्त्री दाहालले शहीद गङ्गालाल हामी सबैले सम्मान गर्ने नाम भएको भन्दै तानाशाही र निरङ्कुशताविरोधी आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने व्यक्तित्वको नाममा स्थापित हुनुको नाताले यस केन्द्रको भूमिका मुटुरोगका साथै लोकतन्त्रको सुदृढीकरण र सामाजिक न्यायसँग पनि जोडिएको बताए ।

प्रतिक्रिया