फोहरले कालीगण्डकी कोरिडोर दुर्गन्धित

नेपालखोज २०७९ माघ १६ गते ७:४८

ढोरपाटन । दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्ने सडक । त्यही सडकको छेउमा देखिन्छ फोहरको डङ्गुर । दैनक बागलुङ बजारबाट ल्याइने फोहर कालीगण्डकी कोरिडोर छेउमा फाल्न थालिएको वर्षौं भयो । यहाँ राखिएको फोहरले मालढुङ्गाका स्थानीयदेखि कोरिडोरमा यात्रा गर्ने यात्रुलाई समेत समस्यामा परेको छ ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर छेउमै रहेको बागलुङ बजारको ‘डम्पिङसाइड’ले आगन्तुकलाई समेत गिज्याइ रहेको छ । करिब डेढ दशकसम्म कालीगण्डकी नदीमा फोहर फाल्दै आएको बागलुङ नगरपालिकाले अदालतको आदेशपछि ठाउँ फेरेर यहाँ फाल्न थालेको थियो । फोहर व्यवस्थापन गर्ने ठाउँको सिधैमाथि प्रसिद्ध बागलुङ कालिका मन्दिर छ । यसको असर मन्दिरमा पनि पुगेको पाइएको छ ।

वर्षौंदेखि अस्थायी रूपमा यहाँ फोहर फाल्दै आएको बागलुङ नगरपालिकाले व्यवस्थित डम्पिङसाइड व्यवस्थापन गर्न सकेको छैन । यस कारण यात्रु, स्थानीय र दर्शनार्थीलाई समस्या हुने गरेको छ । गाडी चालक पदम नेपालीले दैनिक यही सडक भएर यात्रु लिएर हिँड्दा फोहरको गन्धले यात्रुलाई समेत सास्ती भएको बताउँछन् ।

उनले भने, ‘यो बाटो दैनिक दुई पटक हिँड्नुपर्छ, फोहरको यत्रो थुप्रो छ, अहिले जाडो भएर धेरै गन्ध आएको छैन, अलिअलि माक्सले पनि छेक्दो रैछ, गर्मी सिजनमा त निकै गाह्रो हुन्छ, यात्रुले वाक्ने, रिङ्गटा लाग्यो भन्ने गर्छन्, फोहरको गन्धले होला हामीहरुलाई पनि टाउको दुग्ने, वाकवाकी होलाजस्तो हुन्छ ।’

कहिले बजेट अभाव, कहिले स्थानीयको सहमति नभएको बहाना तथा कहिले विस्तृत परियोजना प्रतिवेदन बनाउने भन्दै काम अगाडि नबढेको नगरपालिका बताउँछ । फोहरको दिगो व्यवस्थापनका लागि व्यवस्थित ल्यान्डफिल्ड साइट बनाउने योजना बनाएर पनि कार्यान्वयन नगर्दा यात्रुले दुर्गन्ध व्यहोर्नुपरेको जैमिनी नगरपालिका–८ का शिव सुनारले गुनासो पोखे ।

प्रतिक्रिया