बिहीबार, वैशाख १३, २०८१

हलेसि मन्दिरको दान पेटिका फोर्ने पक्राउ

नेपालखोज २०७९ माघ १७ गते १०:४९

काठमाडौं । त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरको भेटी चोरी गर्ने व्यक्ति सिसीटिभी फुटेजका आधारमा पक्राउ परेका छन् । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीस्थित पार्वतीथानमा रहेको दानपेटिका फोरेर चोरी गरेका इलामको सातखरा नगरपालिका–८ का ३६ वर्षीय रुपेश राई पक्राउ परेका हुन् ।

चोरी आरोपमा पक्राउ परेका राईले आइतबार राति दानपेटिका फुटाएर चोरी गरेको सिसीटिभी फुटेजमा देखिएको छ । सोही फुटेजका आधारमा भाग्दै गरेका राईलाई सोमबार हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा रहेको प्रहरी चौकीले पक्राउ गरेको हो ।

चोरीमा संलग्न राईलाई जिल्ला प्रहरी कार्यालय दिक्तेलमा ल्याइ कारबाहीको प्रक्रिया थालिएको सूचना अधिकारी प्रहरी निरीक्षक बेनुकुमार कार्कीले जानकारी दिए। ‘दिउँसो सोही मन्दिर वरिपरि घुमिरहेका रुपेशले कोही नभएको समय पारेर रडको प्रयोग गरी दानपेकिा फुटाएर चोरी गरेको सिसीटिभी फुटेजमा देखिएको छ’, उनले भने, ‘मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राईले इलाका प्रहरी कार्यालय हलेसीमा खबर गरेलगत्तै सिसीटिभी फुटेजका आधारमा सुमो गाडी चढेर भाग्दै गरेको अवस्थामा राईलाई च्यास्मिटारबाट पक्राउ गरिएको हो ।’

पार्वतीथान राखिएको दानपेटिकामा कति भेटी थियो भन्ने खुलेको छैन । हलेसी आउने भक्तजन तथा दर्शनाथीले चढाउने भेटीलाई व्यवस्थित एवं पारदर्शी बनाउन पार्वतीथान, महादेव गुफा, बसाहगुफालगायत विभिन्न ठाउँमा दानपेटिका राखिएको छ ।

हलेसी मन्दिर परिसरमा आपराधिक क्रियाकलाप रोक्न हलेसी तुवाचुङ नगरपालिकाले सिसीटिभी जडान गरेको थियो । सुुरुमा जडान गरिएको सिसीटिभी चट्याङले बिगारेपछि पुनः अर्को खरिद गरेर केही समयअघि जडान गरिएको हो । मन्दिर परिसरमा जडान गरिएको सिसीटिभी प्रभावकारी देखिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । हलेसीमा जडान गरिएको सिसीटिभी नगरपालिका र इलाका प्रहरी कार्यालय हलेसीको निगरानीमा रहेको छ ।

प्रतिक्रिया